Shittalpati
सवारी दुर्घटनाप्रति गम्भीर बनौं

पछिल्लो समय दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । आइतबार पनि पाल्पामा ७ जनाको ज्यान जाने गरी बस दुर्घटना भयो । बुटवलबाट मलामी लिएर रिडी हिडेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भयो भने १६ जना गम्भीर घाइते भए । दुर्घटना आफैमा असामयिक र हृदयविदारक हुन्छ । अकालमा ज्यान गुमाउनुपर्ने नियतिको निरन्तरताले भयावह स्थिति सिर्जना भएको छ । पाल्पामा यस्ता कहालीलाग्दा सवारी दुर्घटनाहरु वर्षेनी नै हुने गर्दछन् । पाल्पामा साना ठूला दुर्घटनाहरु प्रायः हुने गर्दछन् । तर यस्ता दुर्घटना किन भइरहेका छन् त ? भन्ने बारेमा खासै सरोकारवाला निकायहरुले गहिरो रुपमा चासो लिएको पाइएको छैन ।

पाल्पा सडक खण्ड भएर धेरै सवारी साधनहरु गुड्ने गर्दछन् । एकातिर मिति पुगिसकेका थोत्रा सवारीसाधनहरु पनि त्यत्तिकै गुडिरहेका छन् भने अर्कोतिर जथाभावी गाडी गुडाउनेहरु चाहिँदो कारबाहीको दायरामा त्यत्ति आउन सकिरहेका छैनन् । पर्याप्त छुट पाइरहेको अवस्थामा सवारीसाधनहरु दुर्घटनाको कारक हुनु अस्वभाविक छैन । प्रायः दुर्घटनामा चालकहरुको लापर्बाहीलाई नै मूलरुपमा जिम्मेवार मानिएपनि यात्रुहरुले गर्ने गल्ती पनि त्यसका लागि कारक ठान्न सकिन्छ । दुर्घटना बढी हुने सन्दर्भको हकमा मूलतः चालकहरुकै बढी भूमिका रहने कुरामा भने शङ्का छैन । मिति पुगेका थोत्रा सवारीसाधनहरु अझैसम्म पूर्णरुपमा विस्थापित हुन नसक्नुलाई दुर्घटनाको मूल जडसमेत मानिँदै आइएको छ । जिल्लाका धेरै सडकहरुमा अहिले पनि मर्मत कार्य चलिरहेको छ भने कयौं सडक त जर्जर अवस्थामै पुगेको देखिन्छ । जिल्लाका कयौं भागमा छिटो निर्माण सक्ने होडबाजीमा कमसल सडकहरु बन्नु, सडक चाहिएको जति फराकिलो हुन नसक्नु, सडकमै निर्माण सामग्री अलपत्र रुपमा छोड्नु जस्ता कारणले दुर्घटनाहरुलाई प्रश्रय दिइरहेको देखिन्छ । बारम्बार सवारी दुर्घटनाहरुको नियति पाल्पाले भोग्नु परिरहेको छ । यसतर्फ कसैले पनि चासो देखाएका छैनन् । यो अत्यन्त दुःखको कुरा हो । दुर्घटना बढ्दै जाने, अनाहकमा मानिसहरु मर्ने वा अङ्गभङ्ग भइरहने तर दुर्घटना न्यूनीकरण गर्नेतर्फ चासो नदिने हो भने भविष्यमा जो कोही पनि मृत्युको सिकार हुनुपर्ने नियति आउन सक्छ । समयमै दुर्घटनाका कारणहरुको खोजी नगर्ने हो भने स्थिति झनै विकराल नहोला भन्न सकिँदैन । तसर्थ सम्बन्धित निकायले बढ्दो दुर्घटनाप्रति गम्भीर भएर सोच्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update