Shittalpati
आज पन्ध्र पुस र तमु ल्होसार

नेपाल एक विविधताले भरिपूर्ण भएको सुन्दर देश हो । विभिन्न जातजाति भेष भुषा र साँस्कृतिक पहिचानले विश्व मानचित्रमा देशले महत्वपूर्ण स्थान ओगटेको छ । आज विशेष गरी मगर समुदायले पन्ध्र पुस र गुरुङ्ग समुदायले तमु ल्होसार पर्व धुमधामका साथ मनाउँदै छन् । विभिन्न जातजाति र समुदायले मनाउने पर्व फरक–फरक भएपनि उद्देश्य एउटै रहेको हुन्छ । जुनसुकै पर्वहरुले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गर्दछन् । नेपाली समुदाय सांस्कृतिक पहिचानमा धनी छ । जस मध्ये १५ पुस पनि एक हो । आज देशभर मगर समुदाय र अन्य जातीका मानिसहरुले पन्ध्र पुस पर्व धुमधामका साथ मनाउन लागेका छन् ।

नेपालमा यस पर्वलाई तमु गुरुङ्ग जातिहरुले ‘ल्होसार’ भनी धुमधामसँग मनाउँदै आएको पाइन्छ । बौद्ध धर्मावलम्बी अन्य जातिहरुले पनि यस पौष १५ लाई आ–आफ्ना जातीय परम्परागत विविध तौर तरीकाले मनाउँदै आएको देखिन्छ । कतै आफ्नो कुलको नाममा कतै सामन्तको नाममा कतै ऐतिहासिक घटना एवं प्राकृतिक नियममा अधारित भई मानिएको देखिएता पनि मगर समुदायले चाँही वर्ष भरिको सबै भन्दा छोटो दिन सकेर लम्बिन शुरु गर्ने दिनको मान्यतामा पन्ध्र पुसको दिन मान्ने ऐतिहासिक मूल्य र मान्यता रहि आएको छ । पन्ध्र पुसका दिन आफ्ना इस्टमित्र घर परिवार एकै ठाउँमा जम्मा भइ छोरी चेलीलाई बोलाई मीठा–मीठा खाने कुरा ख्वाउने प्रचलन रहेको छ । त्यस्तै गुरुङ्ग समुदायले पुरानो वर्षलाई विदा गर्दै आजबाट नयाँ वर्षको रुपमा तमुल्होसार पर्व मनाउँदैछन् । आजको दिन गुरुङ्ग समुदायले एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै सामूहिक भोज लगायत साँस्कृतिक कार्यक्रम गरी ल्होसार मान्ने चलन छ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ हो । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको छ । तसर्थ पन्ध्र पुस र तमु ल्होसारको सबैमा शुभकामना ।

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update