Shittalpati
देशका युवा जनशक्ति

युवा सशक्ति करणका नामबाट कति कार्यक्रमहरु विभिन्न निकायबाट आएका छन् । तर युवाहरुको अवस्था झन् भन्दा झन् विदेशिने बाहेक केही कुरामा पनि सशक्त भएको देखिदैन । मुलुकले युवा स्वरोजगारका नाममा धेरै काम गर्ने योजनाहरु सार्वजनिक गरे पनि युवाहरुलाई उद्यमशील दिशामा लगाउन सकिएको छैन । आयको क्षेत्रमा उनीहरुको सहभागिता केवल नाम मात्रको भयो भन्ने विज्ञहरुको भनाई यथार्थ हो भन्ने कुरामा दुईमत छैन । युवाहरु विदेशिने प्रवेशाज्ञाको राजस्वको थुप्रो अत्यन्त्यै ठूलो र भयावह जस्तै देखिएपनि उनीहरुको उच्च शिक्षा र रोजगारका नाममा मुलुकको धन बाहिर पठाउनु पर्दाको पीडावोधलाई रोक्ने कुनै किसिमका दीर्घकालीन निर्णय भएता पनि कार्यान्वयनको पाटो कमजोर भएको महशुस गरिएको छ । राज्यले मात्रै होइन, हामी हाम्रा आफ्ना सोंचहरुमा पनि नयाँ खालका परिवर्तन गर्न सकेका छैनौं । समस्याहरुको पहिचान गरेर, समाधान र विकल्पहरु खोज्ने तर्फ ध्यान नजानु पनि समस्या नै हो ।

युवा उद्यमीको पचिान, उनीहरुलाई लगानी मैत्री वातावरण अनि बजारको उचित व्यवस्थापन नहुँदा विदेशबाट फर्केका युवाहरु उद्यमशील भएर पनि उद्यमशीलतालाई प्रशय दिने खालका कानुनी प्रावधानको अभावले गर्दा उनीहरुको दीगो व्यवस्थापन हुन सकेको छैन । कृषि क्षेत्रमा युवाहरुको चासो पछिल्लो समयमा स्थानीय तहले केही मात्रामा बुझ्ने प्रयास गरेता पनि त्यस्ता युवाहरुलाई व्यवसायिक क्षमताको विकासमा सम्बन्धित निकायहरु चुकेका छन् । सरकारी, निजी, सहकारीको अवधारणालाई कतैबाट पनि परिपालना हुन सकेको छैन । हुँदै भएन भन्ने हो, भने कागजी रुपमा भएका छन् तर जुन रुपमा हुनुपर्ने हो त्यस्तो किसिमको विकास हुन नसक्नु आफैमा अत्यन्तै दुःख लाग्दो विषय हो । यसका लागि राज्यका हरेक नीति निर्माणदेखि कानुनी अड्चनलाई फराकिला र व्यवहारिक बनाएर काम गर्न सक्नुपर्ने अवस्था छ । यदि त्यसो भएन भने देशको युवा जनशक्तिको उपयोग गर्न सकेको मानिएको हुनेछैन ।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update