Shittalpati
तानसेनमा ‘एक वडा एक किलोमिटर’ सडक पिचको काम धमाधम

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको तानसेन नगर सरकारले ग्रामीण सडकमा धमाधम (पिच) कालोपत्र गर्ने काम थालेको छ । शहर बजारमा जस्तै ग्रामीण क्षेत्रमा पनि सहज यातायात सुविधा पुर्‍याउने उद्देश्यसहित नगर सरकारले ग्रामीण क्षेत्रका सडकहरुमा कालोपत्र गर्ने काम धमाधम थालेको हो । नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडाहरुमा कच्ची सडक निर्माणसंगै बाहै्र महिना सहज रुपमा यातायात सञ्चालनका लागि सडकमा कालोपत्र गर्ने काम गरेको छ ।

अहिले तानसेन नगरका १४ वटै वडाहरुमा समान रुपमा एक वडा एक किलोमिटर पक्कि सडक निर्माण गर्ने गरी कार्यक्रम अगाडि बढेको छ । तानसेन नगरपालिकाले ग्रामीण क्षेत्रका वडाहरुबाट एक वडा एक किलोमिटर पक्की सडक निर्माण शुरु गरेको हो । यस अघि तानसेन नगरपालिकाले वडा नंं १४ अर्गली, वडा नंं १३ बौघागुम्वामा एक वडा एक किलोमिटर पक्की सडक निर्माणको कार्य सूरु गरेको थियो । अन्य वडाहरुमा पनि पक्कि सडक निर्माणको लागि आवश्यक पूर्वाधार निर्माणका कामहरु भईरहेका छन् । अहिले भने नगर प्रमुख अशोक कुमार शाहीले वडा नंं १२ को बौघापोखराथोकमा एक वडा एक किलोमिटर सडक पिचको शुभारम्भ गरेका छन् । नगर प्रमुख शाहीले पिच हुने सडकमा बाटो खनि, पुजाआजा गरी पिच हुने सडकको शुभारम्भ गरेका हुन । पिच सडकको शुभारम्भ गर्दै नगर प्रमुख शाहीले नगरका सबै वडाहरुलाई सहरी सुविधा प्रदान गर्नको लागि सबै वडाहरुको पहिलो प्राथमिकता सडक भएकाले अहिले सबै वडाका प्रमुख सडकहरु पिचको काममा नगरपालिका लागिरहेको बताए । एक वडा एक किलोमिटर सडकसंगै थप नयाँ कार्यक्रमको रुपमा एक वडा एक किलोमिट ग्रावेल सडक लागु हुने नगर प्रमुख शाहीले बताए । नगरपालिकाले ३ बर्षसम्म सबै वडाको टोल टोल, गल्ली गल्लीमा सडक पूर्वाधार बनाएकाले अबका दिनमा नयाँ सडक खन्न भन्दा पनि खनिएका पुराना सडकहरुलाई स्तरउन्नती गर्दै जाने नगर प्रमुख शाहीले बताए ।

सडक पिच शुभारम्भ कार्यक्रममा निर्माण व्यवसायी चुरा बहादुर खत्रीले स्थानीयहरुको साथ र सहयोगमा काम गर्ने बताए । तानसेन नगरपालिको स्टिमेट, डिजाइन र मापदण्ड भित्र रहेर निर्धारित समय भित्र पिचको काम सकि नगरपालिकालाई हस्तान्तरण गर्ने निर्माण व्यवसायी खत्रीले प्रतिवद्धता जनाए । स्थानीय जुद्धबहादुर सोमरेले गाउँका सडकहरु पनि पिच हुन लागेको प्रति खुसी व्यक्त गरे । पिचको शुरुवात भएको छ पक्कै पनि आगामी चार/पाँच बर्षमा वौघापोखराथोकको मुख्य सडक पिच हुने वातावरण तयार पारेकोमा नगर प्रमुख शाहीलाई उनले धन्यवाद दिए । कार्यक्रममा स्थानीय बुद्धिजिवी पुरुषोत्तम गैरेले एक वडा एक किलोमिटर पिच सडक कार्यक्रम राम्रो कार्यक्रम भएकाले यो कार्यक्रमलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिनुपर्ने बताए । तानसेन नगरपालिकाले शुरु गरेको एक वडा एक किलोमिटर सडकले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने, गाउँ गाउँमा आर्थिक चलायमान गराउने गाउँ शहरको सम्वन्धलाई नजिक बनाउने पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईले बताए । वडा नंं १२ पोखराथोकमा तिनकुने हुँदै मालुङ्गडाँडासम्मको बाटो कालोपत्रे गरिने छ,भने वडा नंं १३ को बौघागुम्वामा केरवादी जाने चोकदेखी वडा भवन स्कुल हुँदै छेर्लुङ झर्ने विद्युत ट्रान्समिटरसम्म कालोपत्रेको लागि काम भईरहेको छ । दुबै स्थानको लागि सडक चौडा पार्ने, नाली बनाउने, पर्खाल लगाउने काम भईरहेको छ । साढे ३ मिटरको दुई किलोमिटर सडकको लागि १ करोड २३ लाख रुपैयाँमा साईन कन्ट्रक्सन प्रा.लि. काठमाडौले काम गरेको निर्माण व्यवसायी चुरा बहादुर खत्रीले बताए । काम सक्ने सम्झौता अवधी २०७८ फागुन मसान्त भित्र रहेको छ ।

तानसेन नगरपालिकाले जनप्रतिनिधी निर्वाचित भईसकेपछी करीव ३ किलोमिटर कच्ची सडक निर्माण गरेपछी, सडकलाई व्यस्थित, सुरक्षित बनाउन ग्रामीण सडकमा कालोपत्र अभियान थालेको हो । तानसेन नगरपालिकाले गत बर्षदेखी एक वडा एक किलोमिटर पक्की सडक अभियान शुरु गरेको थियो । तानसेन नगरपालिका वडा नंं १२ का वडा अध्यक्ष देवेन्द्र बहादुर रानाको सभापतित्वमा भएको सडक पिच कार्यक्रमको सञ्चालन नगरपालिकाका शाखा अधिकृत भरत आचार्य गरेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update