Shittalpati
संसदमा विरोधका बीच अध्यादेश पेश

पाल्पा, मंगलबार बसेको संसद् बैंठकमा एमाले सांसदको विरोधका बीच अध्यादेश पेश भएको छ । कानुन न्याय तथा संसदीय मामीलामन्त्री दिलेन्द्र प्रसाद वडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश गरेका हुन् । यस्तै, बडुले रेल्वे अध्यादेश पनि पेश गरे । बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेस गरेका हुन् ।

संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधान छ । संसदको यो अधिवेशनमा पनि प्रमुख विपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । आफूले गरेको सांसदको कारवाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाईलिएर अवरुद्ध गरेको हो । एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए । अब अर्को बैठक पुस ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update