Shittalpati
काँग्रेसको ६१ जिल्लामा मात्र अधिवेशन

पाल्पा, नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन गरेको छ । यसबाहेक सबै जिल्लाका कूल १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी १६ जिल्लामा भने अधिवेशन स्थगित भएको छ ।

काँग्रेसले बिहीबारदेखि सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन प्रारम्भ गरेकाले अधिवेशन हुन नसकेका बाँकी जिल्लाको अधिवेशन स्थगित भएको हो । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, चितवन, कैलाली र बाँके लगायतका १६ जिल्लामा अधिवेशन हुन नसकेको हो । ६१ जिल्लामा भने जिल्ला अधिवेशन भइसकेको छ ।

काँग्रेसले यसअघि देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न गरिसकेको छ । जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन भने पार्टीको महाधिवेशन पछि मात्र हुने समितिले जनाएको छ ।

काँग्रेसले बिहीबार ७ वटै प्रदेशको अधिवेशन सुरू गरेको छ । मंसिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मंसिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मंसिर १७ गते २ बजे सो उपर निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका रहेको छ । मंसिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, सोही दिन साँझ ६ः३० मनोनयन फिर्ता लिने, साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मंसिर १८ गते विहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुने छ । काँग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update