Shittalpati
एमाले अध्यक्षमा ओली विजयी

सौराहा, नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए ।

यही मंसिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए सोमबार राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा. भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गरेका छन् । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका कारण छिटै परिणाम निस्किएको हो । कतिपय प्रतिनिधिले अध्यक्षका दुवै उम्मेदवारलाई मत दिएको बुझिएको छ । अध्यक्ष ओली गत नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै विजयी भएका थिए । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङकर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्नअधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा.रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो । उपाध्यक्ष पदमा हलमा प्रस्तुत भएको नामावली अतिरिक्त उम्मेदवारी दिएका भुसाल अन्य उम्मेवारका तुलनामा पछि परेका छन् । –रासस

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update