Shittalpati
एमाले महाधिवेशन: पाँच पदाधिकारी निर्विरोध

पाल्पा, नेकपा एमालेको १० औं महाधिवेशमा पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदका लागि पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ । वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् । महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध हुने निश्चित भएको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले बताए ।

त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा ज्ञवाली, गुरुङ र रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् । मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी परेन । ती सदस्यका अनुसार अध्यक्ष पदमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । केपी ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षमा घनश्याम भुसालले समेत उम्मेदवारी दिएपछि निर्वाचनमा जानुपर्ने भएको हो । अध्यक्ष, उपाध्यक्ष र सचिवलगायत १४ पदाधिकारीका लागि भने निर्वाचन हुने छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update