Shittalpati
‘देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ’

रुपन्देही, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन । जनता समाजवादी पार्टी रुपन्देहीले आइतबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले देशको समृद्धि र जनताको जीवन परिवर्तनका लागि वैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै केन्द्रीय समाजवादी शक्ति निर्माण गर्न सकेमात्रै देशले निकास पाउनेमा जोड दिए ।

मुलुकमा आर्थिक, सामाजिक र सांस्कृति परिवर्तन हुन नसक्दा जनतामा निराशा र अन्योल छाएको उल्लेख गर्दै उनले राजनीतिक शक्तिबीचमा नयाँ ढङ्गले एकता कायम गरी अगाडि बढुनु नै उत्तम विकल्प हुने बताए । ‘सामान्य लोकतान्त्रिक मूल्य, मान्यतामा ह्रास आएको छ, सत्ता स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्ने काम भयो । यसरी देशले निकास पाउँदैन । अदालतमा देखिएको संकट यसैको उदाहरण हो’, अध्यक्ष भट्टराईले भने । उनले पुराना राजनीतिक शक्तिले जनतामा वैचारिक भ्रम छर्ने काम गरेको आरोप लगाए । अध्यक्ष भट्टराईले महान् क्रन्तिबाट आएका नेताहरूले नै बाटो बिराउँदा देश गलत दिशामा अघि बढेको जनाउँदै एकता र सार्वभौमसत्ता रक्षाका लागि नयाँ समाजवादको मोडल आवश्यक रहेकोमा जोड दिए । ‘काँग्रेस जतिपटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न सकिँदैन, मुलुक परिवर्तनका लागि अग्रगामी शक्ति आवश्यक छ’, उनले भने । पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि पार्टीले चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको बताए । जनवर्गीय संगठन विस्तार र विभिन्न धारबाट आएका समूहका अलग बुझाइ चिर्न र जनता जागरुक गर्न अभियान थालिएको उनको भनाइ छ । मङ्सिरसम्म सञ्चालन हुने अभियानमा जनताका माँझमा आफ्ना विचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता भट्टराईले बताए । –रासस

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update