Shittalpati
एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि

पाल्पा, नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ । महाधिवेशनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको एमालेको सचिवालयले जनाएको छ । महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा शुक्रबार चितवन पुगेर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । उनी हेलिकोप्टरमार्फत चितवन पुग्ने बताइएको छ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्कने बताइएको छ ।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत चितवन पुग्दैछन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगोमा अड्ढित गैँडाको मस्कट तयार गरिएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टोलीले १० दिन लगाएर गैँडाको मस्कट तयार पारेको हो । चितवन एकसिङ्गे गैँडाका लागि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेको सचिवालयले जनाएको छ । यो मूर्ति महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा राखिनेछ । महाधिवेशन आजदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update