Shittalpati
महाधिवेशनमा काँग्रेस, ‘संगठन हाक्ने नेतृत्व खोज्दैछौं’

रामचन्द्र रायमाझी
पाल्पा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद हरिप्रसाद नेपालले महाधिवेशनबाट संगठनलाई हाक्ने नेतृत्वको खोजीमा काँग्रेस रहेको बताएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका क्रममा शुक्रबार पाल्पा प्रदेश निर्वाचन क्षेत्र नं २ को ‘क’ प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । केन्द्रीय सदस्य नेपालले वडा तहदेखि नै संगठनलाई चुस्त, बलियो र चलायमान बनाउने नेतृत्व काँग्रेसले खोजिरहेको भन्दै महाधिवेशनबाट त्यस्तो नेतृत्व आउने विश्वास व्यक्त गरे । सशक्त नेतृत्वबाट नै आगामी तीनै तहको निर्वाचन जित्न सकिने भएकाले संगठन हाक्ने नेतृत्व चयन गर्न प्रतिनिधिहरुलाई उनले आग्रह समेत गरे ।

प्रमुख अतिथि समेत रहेका नेपालले पार्टीको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने उल्लेख गर्दै भने, ‘यो पार्टीको अधिवेशन हो । नेतृत्वका लागि हामीबीच प्रतिस्पर्धा भइरहेको छ । तर हामीले निर्वाचनमा वास्तविक प्रतिस्पर्धा अन्य राजनीतिक दलसँग गर्नुपर्छ । निर्वाचनमा सहभागी हुने सम्पूर्ण साथीहरु लगायत निर्वाचित हुने प्रदेश समितिले आफ्नो सम्पूर्ण ध्यान आगामी निर्वाचनमा पार्टीलाई जिताउन लगाउनु पर्छ ।’ पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खेलको जसरी सहज रुपमा लिन आग्रह गर्दै नेता नेपालले ‘निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरुबीच रहेको सद्भाव र एकता पूर्ववत् रहनुपर्छ ।’ कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वीरबहादुर रानाले सकरभर पार्टीको अधिवेशन सहमतिमै टुङ्गाउने र यति नभए निर्वाचन प्रक्रियाबाटै भए पनि कुशल नेतृत्व ल्याउने बताए । उनले महाधिवेशनमा आकांक्षीहरु धेरै देखिनु स्वाभाविक रहे पनि पार्टीलाई बलियो र सशक्त बनाएर लैजाने नेतृत्व अहिलेको आवश्यकता रहेको औल्याए । सभापति रानाले संगठनलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्न अब आउने नेतृत्वलाई आग्रह समेत गरे । लुम्बिनी प्रदेशका मन्त्री समेत रहेका रानाले नेतृत्वमा आउने व्यक्तिहरुले पार्टी, सरकार र सरकारको अनुभूति आमजनतालाई दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

फरक प्रसंगमा मन्त्री रानाले पाल्पाको प्रमुख समस्याको रुपमा रहेको सिद्धबाबा सडकको समस्या समधानका लागि सम्बन्धित निकायलाई सजग बनाएको बताए । नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले पार्टीको संरचना निर्माण गर्ने दिशामा काँग्रेस अगाडि बढेको बताए । उनले उत्साहका साथ काँग्रेस महाधिवेशनमा होमिएको भन्दै अबको संगठनलाई चुस्त र मजबूद बनाउने नेतृत्व महाधिवेशनबाटै आउने धारणा व्यक्त गरे । नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र नं २ ‘क’ का सभापति कृष्ण बस्यालले पार्टीलाई सही दिशामा अगाडि बढाउने नेतृत्व छान्न प्रतिनिधिहरुलाई आग्रह गरे । पार्टी कस्तो बनाउने भन्ने जिम्मा प्रतिनिधिहरुलाई रहेको भन्दै सभापति बस्यालले विवेक पुर्‍याएर नेतृत्व छनौट गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्राध्यापक संघका महासचिव केशव शर्मा, भूपू सैनिक पाल्पाका सभापति विष्णु गाहा, नेपाल महिला संघकी जिल्ला सभापति गंगा पौडेल, नेपाल तरुणदलका जिल्ला सभापति मेजरसिं केसी, नेविसंघका जिल्ला कार्यवाहक सभापति सुरेश बोहोरा लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए । अधिवेशन उद्घाट कार्यक्रम कृष्ण बस्यालको अध्यक्षता, सचिव यादव सिं कार्कीको सञ्चालनमा भएको थियो । पाल्पामा ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशनको शुक्रबार उद्घाटन भएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update