Shittalpati
कचल फाँट सिँचाइको मन्त्री रानाद्वारा अनुगमन

पाल्पा, लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर रानाले कचल फाँट सिँचाइ योजनाको अनुगमन गरेका छन् । मन्त्री रानाले लामो समयदेखि अवरुद्ध रहेको तिनाउ गाउँपालिका–१ कचलको कचल फाँट सिँचाइ योजनाको अनुगमन गरेका हुन् ।

२०७४ सालमा उक्त योजनाको निर्माण सुरु भए पनि प्राकृतिक प्रकोपका कारण अगाडि बढ्न सकेको छैनन् । फेक खोलामा मुहान रहेको उक्त सिंचाइ योजनाको पानी ९ किलोमिटर टाढा कचल फाँटमा आउने गर्दछ । अनुगमनको क्रममा मन्त्री रानाले अवरुद्ध सिँचाइ योजनाको काम तत्काल सञ्चालन गर्न निर्माण कम्पनी प्राकृतिक निर्माण प्रा.लिलाई आग्रह गरेका छन् । तत्काल समस्याको पहिचान गरी योजनाको काम अगाडि बढाउन मन्त्री रानाले निर्माण कम्पनी र सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले कृषिको महत्वपूर्ण आधार सिंचाइ भएकाले तत्काल सिंचाइको व्यवस्था मिलाई कृषिमा लाग्न स्थानीयलाई आग्रह समेत गरे । सिंचाइको लागि कार्यक्रम तथा बजेट आवश्यक परेमा मन्त्रालयले समेत सहयोग गर्ने मन्त्री रानाले बताए ।

अनुगमनमा मन्त्रालयका सचिव,महाशाखा प्रमुख, पाल्पाका डिभिजन प्रमुख,निर्माण व्यवसायी, उपभोक्ता समितिका पदाधिकारी र स्थानीयहरुको समेत सहभागिता रहेको थियो । मन्त्री रानाले उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै प्रदेशका विभिन्न जिल्लामा पुगी कृषि र सिंचाइको अवस्थाका विषयमा जानकारी लिएका छन् । उनले कृषिको माध्यमबाट मात्रै प्रदेशको समृद्धि हुन सक्ने भन्दै कृषि र सिंचाइको क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update