Shittalpati
आज काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदै

पाल्पा, नेपाली काँग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत आज देशैभरका प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गतका क्षेत्रमा शुक्रवार अधिवेशन हुन लागेको हो । अधिवेशनको पाल्पामा पनि तयारी पुरा भएको नेपाली काँग्रेस पाल्पाले जनाएको छ । चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा नेतृत्वका लागि आंकाक्षीहरु धेरै देखिएका छन् ।

आज हुने प्रदेश निर्वाचन क्षेत्र १ (क) मा प्रदेश सभापतिका लागि भोजेन्द्र प्रकाश ढकाल र राम बहादुर राना प्रतिस्पर्धी रहने आँकलन गरिएको छ । यहाँको अधिवेशन रामपुरमा हुने बताइएको छ । प्रदेश निर्वाचन क्षेत्र १ (ख) मा युवराज पौडेल, हेमराज अर्याल, धातानन्द बस्याल र कृष्ण भट्टराई प्रदेश सभापति पदमा आकंक्षी देखिएका छन् ।यो समाचार तयार पार्दासम्म प्रदेश निर्वाचन क्षेत्र १ (क) र (ख) मा उम्मेदवारी भने घोषणा गरेका छैनन् । १ (ख) को अधिवेशन भने कसेनीमा हुँदैछ । प्रदेश निर्वाचन क्षेत्र २ (क) मा सभापतिका लागि लक्ष्मी प्रसाद अधिकारी र राधेश्याम ज्ञवालीले उम्मेदवारी घोषणा गरेका छन् । यस क्षेत्रको निर्वाचन तानसेनको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा हुँदैछ । प्रदेश निर्वाचन क्षेत्र २ (ख) मा रूक्मागत भट्टराई र दमबहादुर कार्कीले पनि उम्मेदवारी घोषणा गरेका छन् । २ (ख) को अधिवेशन रिब्दिकोटको देउरालीमा हुने छ । सो अधिवेशनबाट चुनिने नेतृत्वले प्रदेश सभा क्षेत्र अन्तर्गतमा रहेर पार्टीको नेतृत्व सम्हाल्न अघि बढ्ने अवसर पाउने छन् । प्रदेश सभा निर्वाचनमा सो क्षेत्र भित्रका गाउँ÷नगर÷ वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र भित्रका गाउँ/नगर कार्य समितिका सभापति र वडा कार्य समितिका सभापति मतदाता हुने छन् यसैगरी सो क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापति, संघीय सांसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुने व्यवस्था काँग्रेसको विधानमा छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update