Shittalpati
महिला नेतृत्वको इतिहास रच्छु: महामन्त्री कुंवर

पाल्पा, नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुवंरले नेपाली राजनीतिमा महिला नेतृत्वको इतिहास रच्ने बताएकी छन् । बुधबार नेपाल प्रेस युनियन पाल्पा शाखाको कार्यालयमा पत्रकारसँगको भेटघाटमा महामन्त्री कुवंरले राजनीतिक क्षेत्रमा महिला नेतृत्वको इतिहास रच्ने आफ्नो उद्देश्य रहेको बताएकी हुन् ।

संघको महामन्त्रीमा पहिलो महिलाको रुपमा समेत रहेकी कुंवरले आफु नेविसंघको केन्द्रीय सभापति भई महिला नेतृत्वको इतिहास रच्ने गरी आफु अगाडि बढेको धारण व्यक्त गरेकी छन् । उनले भनिन्‘ अझै पनि महिलाहरु नेतृत्व तहमा पुग्न गाह्रो रहेको छ, त्यसलाई तोडेर आफु महिला नेतृत्व तहमा पुगी इतिहास रच्नेछु ।’ आफ्नो जन्मथलो पाल्पाबाटै राजनीतिमा अगाडि बढेको स्मरण गर्दै महामन्त्री कुंवरले महिला नेतृत्वमा पुगेर पाल्पाकै पहिचान झल्काउने बताईन् । उनले आफु पनि पत्रकारिताको पेशाबाटै आएकाले पत्रकारिताको मर्म र भावनालाई नजिकबाट नियाल्ने गरेको धारणा व्यक्त गरिन् । कंवुरले देशको राजनीतिलाई सही दिशा दिन पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा सक्षम र मुलुकलाई आवश्यक नेतृत्व ल्याउने विषयमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिईन् । उनले पत्रकारको क्षमता अभिवृद्धि र संस्थागत विकासमा आफुले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् । महामन्त्री कुंवरले महाधिवेशनको संघारमा मत बटुल्न पत्रकारसँग भेट गरेको भन्ने आशंक नगर्न पत्रकारहरुलाई आग्रह गरिन् । उनले भनिन् ‘ म मत बटुल्न होइन, पत्रकारसँग आत्मिएता साट्न खोजेकी मात्र हुँ, चुनावमा उठेर जिताउला वा नजितौला त्यो आफ्नो ठाउँमा छ ।’

भेटघाटमा प्रेस युनियन पाल्पाका सभापति भरत शर्माले पत्रकारिताको विकास र विस्तारमा राजनीतिक दलहरुले समेत चासो देखाउनुपर्ने बताए । कार्यक्रममा प्रेस युनियनका उपसभापतिहरु पुष्करराज रेग्मी,मन गहिरे, सचिव रामचन्द्र रायमाझी, कोषाध्यक्ष विष्णु खनाल, युनियनका सल्लाहकार प्रकाश नेपाल, युनियनका पूर्व कोषाध्यक्ष तथा पत्रकार महासंघका कोषाध्यक्ष मुक्ति न्यौपाने, युनियनका पूर्व उपसभापति कविराज नेपाल, युनियनका सह सचिव सरस्वती दंगाल, सदस्यहरु सन्तोष गहतराज, सुशिल बस्याल लगायतले वर्तमान राजनीतिक समसामयिक विषय, आगामी यात्रा र नेतृत्वका विषयमा महामन्त्री कुंवर समक्ष जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update