Shittalpati
केपी ओली इतिहासकै कन्जुस : नेता भण्डारी

रमेश विश्वकर्मा

गुल्मी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले केपी ओली इतिहासकै कन्जुस नेता भएको आरोप लगाएका छन् । नेपाली काँग्रेस रेसुंगा नगर समितिले आइतबार सदरमुकाम तम्घासमा aअयोजना गरेको चाडपर्व विशेष शुभकामना आदान–प्रदान कार्यक्रममा नेता भण्डारीले ओलीको एकपक्षीय महत्वकांक्षाका कारण दुई तिहाइको सरकार ढल्नु परेको बताए । नेता भण्डारीले भने,‘केपी ओलीका कारण न सरकार रह्यो, न प्रदेशका सरकार नै रहें ।’

कोभिड–१९ बाट जनताको जीवनस्तर संकटमा पर्दा ओली भने पार्टीको आन्तरिक झगडामा रुमलिएको समेत आरोप लगाए । नेता भण्डारीले शेर बहादुर देउवा नेतृत्वको सरकार आएको एक महिनाभित्रमा खोप लगाउने एसियाको दोस्रो देश बनाएको बताए । ओली सरकारले अरुले ३० वर्षमा नगरेको काम आफुले ३ वर्षमा गरेको भन्दै जनतामा भ्रम र अफवाह फैलाइरहेको अरोप लगाए । उनले यसरी जनतामा भ्रम र अफवाह फैलाउनेलाई बरबराउने रोग लागेको समेत नेता भण्डारीले आरोप लगाए ।

अहिलेसम्म बनेका प्रधानमन्त्रीले वास्तविक रुपले गतल गर्नेलाई थुन्न सकेको भए नेपालका ९० प्रतिशत नेता जेलमा हुने नेता भण्डारीले भने,‘नेपालमा कानुनले काम नै गरेन । जो फटाहा छ, जो गलत काम गर्छ । उही नै कानुन लिएर हिड्छ ।’ कानुनले सहि काम गरेको भए नयाँ नेता र विचारको विकास हुने बताए ।

संविधान सभा सदस्य समेत रहेका नेता भण्डारीले पार्टीभित्र गुटको नभई विचारको राजनिति हुनुपर्ने बताए । तर पार्टीभित्र गुट–उपगुट राजतिनितिले नै फुटको सिर्जना हुने उनको भनाई छ । नेता भण्डारीले १४ औं महाधिवेशनबाट अब नेतृत्व हस्तान्तरण हुनुपर्ने पनि बताए । पुराना नेताले विश्राम लिनुपर्ने बताउँदै नेता भण्डारीले अब युवा नेताहरुको काँधमा पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

सोही अवसरमा नेपाली काँगे्रसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले काँगे्रसको भविष्य सुन्दर रहेको उल्लेख गरे । आगामी अधिवेशनबाट बोधा संगठनलाई रेति लगाउने दाबी समेत गरे । उनले भने,‘भोलीको काँगे्रस हिजोको काँगे्रस जस्तो नहोस, काँगे्रसले राजनीति जितेपनि निर्वाचन जितेको छैन । सबै कुरा सच्चाउने काम काँगे्रसले गर्छ ।’ सभापति श्रेष्ठले भने,‘काँगे्रसले प्रतिगमनलाई फाल्यो । गुल्मीमा पनि काँगे्रसले धेरै काम गरेको छ ।’ सभापति श्रेष्ठले काम गर्न कुनै पद नचाहिने बताए । शुभकामना आदान–प्रदान कार्यक्रमलाई उपसभापति विष्णु बलाल, सचिव खिलध्वज पन्थी, सचिव विष्णु कुमारी सापकोटाले पनि शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै काँग्रेस नेताहरु श्रीप्रसाद भलामी, शालिक पन्थी, पारिश्वर ढकाल, भगत खड्का, हरि अर्याल, तरुण दल अध्यक्ष अध्यक्ष भरत भलामी लगायतका नेताहरुले पनि शुभकामना मन्तव्य राखेका थिए । नेपाली काँग्रेस रेसुङ्गा नगर सभापति जयश्वर पन्थीको सभापत्वि रहेको कार्यक्रममा उपसभापति सावित्रा भण्डारीको स्वागत मन्तव्य एवम् सचिव गुणाखर पाण्डेको सञ्चालन रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update