Shittalpati
जनताको सहभागिता विना दिगो विकास असम्भव: मन्त्री राना

जगदीश भट्टराई

पाल्पा, लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले जनताको सहभागिता विना दिगो विकास असम्भव रहेको बताएका छन् । शनिबार रैनादेवी छहरा गाउँपालिका ५ को पार्टी वडा कार्यालयको उद्घाटन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै मन्त्री रानाले यस्तो बताएका हुन् । नेपाली काँग्रेस पाल्पाका सभापति समेत रहेका रानाले जनताको सहभागिता गराएर मात्र दिगो विकास सम्भव रहेको बताउदै विकास तथा योजना निर्माणका हरेका काममा जनताको सहभागिता अनिवार्य गराउनुपर्नेमा जोड दिए ।

विकासका योजनालाई कनिका छरे जस्त‍ो छरेर मात्र नहुँने भन्दै मन्त्री रानाले दिगोे र टिकाउ अनि जनउपयोगी विकास अहिलेको आवश्यकता रहेको बताए । उनले प्रदेशका हरेक विकास र निर्माणका कामलाई पारदर्शी र जनताको दुख,सुखसँग तालमेल हुने गरी प्रदेश सरकार अगाडि बढेको धारणा व्यक्त गरे ।

मन्त्री रानाले जबसम्म गाउँका जनतालाई उद्यमशील बनाउन सकिँदैन तबसम्म हामीले दिगो विकासको परिकल्पना गर्न नसक्ने बताए । कृषि क्षेत्रमा होस् या उत्पादनका क्षेत्रमा किन नहोस्, त्यसले दिने प्रतिफलले आमजनताको आर्थिक सम्पन्तासँग नजिक हुनुपर्ने अवस्था नआएसम्म लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने काँग्रेस सभापति समेत रहेका रानाले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका उपसभापति देवराज ढकाल, पार्टी सचिव झपेन्द्र गहिरे, क्षेत्र २ का क्षेत्रीय सभापति तथा रेनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की,महाधिवेशन प्रतिनिधि यमलाल तिमिलेसेना, युवा नेता हिमालदत्त श्रेष्ठ, सुनिता अधिकारी, नेपाली काँग्रेस पाल्पा प्रदेश ख का प्रमुख राम कार्की, महाधिवेशन प्रतिनिधी कृष्ण राना, महिला नेतृ शान्ता बोहोरा, पार्टीका सल्लाहकार विधान श्रेष्ठ, कोषाध्यक्ष मुक्ति जिसी, नेताहरु नलवहादुर राना, विष्णु पोख्रेल, शंकर रायमाझी, रुक्मागत भट्टराई, हुमान सिं कार्की लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

सोही अवसरमा मन्त्री सहित स्थानीय यनेताहरुलाई सम्मान समेत गरिएको थियो । मन्त्री रानालाई रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष तथा पार्टीका क्षेत्रीय सभापति रामवहादुर कार्की र वडा ५ का वडा सभापति अम्मवरबहादुर कार्कीले संयुक्त रुपमा सम्मान पत्रले सम्मान गरेका थिए । कार्यक्रममा मुझुङ्गका पूर्व सभापतिहरु कृष्णबहादुर कार्की, यमबहादुर राना, सुरेश पौडेल, रेवन्तबहादुर कार्कीलाई भने मन्त्री राना र कार्यक्रमका सभापतिले संयुक्त रुपमा सम्मान गरेका थिए । वडा सभापति अम्वर वहादुर कार्कीको सभापतित्व, पुर्व वडासभापति सुरेश पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update