Shittalpati
उज्यालो प्रदेश बनाउनु नै मुख्य एजेन्डा : मन्त्री राना

हाम्रासंवाददाता

बुटवल, लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउनु नै मुख्य एजेण्डा रहेको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै मन्त्री रानाले उज्यालो प्रदेश निर्माण गर्ने मुख्य एजेण्डा सहित आफु मन्त्रालयमा आएको बताएका हुन् ।

प्रदेशभित्रका केही स्थानमा अझै विद्युत् पुग्न नसकेको हुँदा उज्यालो प्रदेशका लागि जलविद्युत्सँगै लघुजलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जाको सहायता लिएर उज्यालो प्रदेशका रूपमा लुम्बिनीलाई चिनाउने अभियानमा लाग्ने मन्त्री रानाको भनाइ थियो । समस्याको रूपमा रहेको विद्युत्को समस्यालाई हल गर्नका लागि आफ्नो कार्यकालमा प्राथमिकता दिएर काम गर्ने उनले बताए । प्रदेश सरकारको कान्छो मन्त्रालय मानिने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले प्रदेशकै एक ठाउँबाट उज्यालो अभियान सुरु गर्ने गरी आफु अगाडि बढेको मन्त्री रानाको भनाई छ । उनले प्रदेशका विभिन्न ठाउँमा रहेका विद्युत आयोजनाहरु संघीय सरकारसँग थप समन्वय गरेर अगाडि बढाउने समेत बताए ।

मन्त्री रानाले परिस्थितिजन्य रुपमा प्रदेश सरकार गठन भएको स्मरण गर्दै जनताको आवश्यकता र आकांक्षामा आधारित भएर काम गर्ने प्रतिवद्धतासमेत जनाए । उनले भने ‘अब नागरिक कार्यालयमा पटकपटक धाउने होइन, नेतृत्व पङ्क्ति कार्यस्थलमा पुगेर नागरिकलाई सेवा दिने कार्यमा लाग्नेछ ।’नागरिकको बस्तीमा पुगेर उनीहरुका समस्या पहिचान गरी समाधानको बाटोमा आफू सशक्तरूपमा लागेर काम गर्ने मन्त्री रानाको भनाइ छ । ‘जनताका अपेक्षा अत्यान्त ठूला रहेका छन् । जनतालाई केन्द्रमा राखेका काम गर्ने गरी आएका छौँ’ उनले भने । उनले वर्षाजन्य प्रकोपका कारण पीडित किसानलाई प्रत्यक्ष राहतका लागि प्रदेश सरकारले काम सुरु गरिसकेको पनि बताए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईँले लामो संघर्षबाट प्राप्त भएको संविधानलाई नै धरापमा पार्ने प्रयास विफल गराउन अग्रगामी शक्तिहरु सफल भएको दाबी गरे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update