Shittalpati
सडक कालोपत्रेले स्थानीय उत्साहित

गुल्मी, कच्ची सडक कालोपत्रे भएपछि स्थानीय उत्साहित भएका छन् । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेर भण्डारी टोलमा सडक कालोपत्रे भएपछि यहाँका स्थानीय उत्साहित भएका हुन्  । सदरमुकाम नजिकै रहेर पनि वर्षौ सम्म कच्ची रहेको सडकमा कालोपत्रे भएपछि उनीहरु खुसी भएका छन् ।

कच्ची सडकका कारण सास्ती खेप्दै आएका रेसुङ्गा नगरपालिका –४ अर्खले भण्डारी टोलका स्थानीयलाई सडक कालोपत्रे भएपछि सहज भएको छ । सडक विस्तार भएको लामो समयपछि सडक कालोपत्रे भएको हो । अहिले भण्डारी टोलको सडक कालोपत्रे गर्ने कार्य भएको छ । सडक कालोपत्रे गर्न रेसुङ्गा नगरपालिकाबाट ५० लाख रकम खर्च भएको रेसुङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले बताए । अहिले तत्कालै ६ सय मिटर सडक कालोपत्रे गर्ने कार्य भएको छ । सडकको साढेचार मिटर चौडाई रहेको इन्जिनियर कोइरालाले बताए । सडक कालोपत्रे गर्ने साइन कन्टकसन काठमाडौंले निर्माणको काम गरेको हो । कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको निर्माण व्यवसायी चुराबहादुर खत्रीले बताए । काम सम्पन्न गर्नुपर्ने मिति गत असारसम्म रहेपनि यसवर्ष वर्षात धेरै भएकाले केहि ढिलो भएको व्यवसायी खत्रीले बताए । सडक कच्ची हुँदा स्थानीयलाई बजार आउजाउ गर्न निकै सास्ती खेप्नु परेको थियो ।

वर्षातमा हिलाम्मै र हिउँदमा धुलाम्मै सडकले स्थनीय आजीत भएका थिए । अहिले सडक कालोपत्रे भएपछि स्थानीय खुसी छन् । मौसम प्रतिकूलताका कारण ढिलो भएपनि काम राम्रोसँग सम्पन्न हुन लागेको रेसुङ्गा नगरपालिका –४ का वडासदस्य बेदप्रसाद भण्डारीले बताए । बाटो कालोपत्रे गर्न नगरप्रमुख र वडाध्यक्षले चासो देखाएकाले कालोपत्रे गर्न सफल भएको भण्डारीको भनाई छ । अहिले सडक कालोपत्रे भएपछि घरबाट आउजाउ गर्न सहज भएको स्थानीय सोनु न्यौपाने भण्डारीले बताइन् । उनले वर्षातमा हिलाम्मै र हिउँदमा धुलाम्मै हुने गरेकाले बच्चाहरुलाई स्कुल पुर्‍याउन र बजारसम्म पुग्न कठिन हुने गरेको उनले बताइन् । अर्खले स्थित भण्डारी टोलमा रिङ्गरोड सडक बनाउने गरी काम अगाडि बढाइएको छ । जसको लागि बाँकी रहेको सडकको नालि र ग्राभेल गर्ने कार्य पनि गरिएको छ । अर्खले भण्डारी टोल मदन भण्डारी राजामार्ग तम्घास सिमलटारी सडकसँग जोडिएको छ ।
– अनिल खत्री

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update