Shittalpati
पहिरोले रानीमहल घुम्न गएकाहरु अलपत्र

पाल्पा, आइतबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले रानीमहल घुम्न पुगेकाहरु अलपत्र परेका छन् । तानसेनदेखि रानीमहल जाने सडक खण्डका विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध हुँदा त्यहाँ पुगेका आन्तरिक पर्यटकहरु अलपत्र परेका हुन् । पहिरोले यहाँका सडकहरु दूई दिनदेखि अवरुद्ध रहेको स्थानीयले बताएका छन् ।

रानीमहल क्षेत्रको हात्तीढुंगा, गाईघाट, बैकुण्ठभीर लगायतका सथानमा पहिरो गएको छ । सोमबार रातीसम्म निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन ढिला हुँदा यहाँ घुम्न आएका दुई सय बढी पर्यटक अलपत्र परेको स्थानीय पर्यटन व्यवसायी बसन्त कुँवरले बताए ।

कतिपय पर्यटकहरु पहिरोले रानीमहल पुग्न नपाई बीचमै रोकिएका छन् भने धेरैजसो फर्कन समेत पाएका छैनन् । पहिरो फाल्नका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको तानसेन नगरपालिकाका प्रमुख अशोक शाहीले बताए । पानी नपरेमा पहिरो आज नै हटाईने उनले बताए ।

दसैंपछि घुम्न रानीमहल पुगेका पर्यटक सडक अवरुद्ध भएपछि स्थानीय होटल तथा रिसोर्टमा बास बसेका छन् । सोमबार बिहानदेखि अवरुद्ध भएको रानीमहल जाने सडक मंगलबार बिहानसम्म पनि सञ्चालन नहुँदा समस्या भएको रुपन्देहीबाट घुम्न आएका मनोज घर्तीले बताए । सडकमा पहिरो खस्ने क्रम नरोकिएकाले समस्या आएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।     तस्वीर :बसन्त कुँवर 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update