Shittalpati
ओलीको हावादारी गफले नयाँ पार्टीको जन्म भयो: झाँक्री

पाल्पा, नेकपा (एकीकृत समाजवादी ) की नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले नयाँ पार्टीको जन्म भएको बताएकी छन् । सोमबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शहरी विकासमन्त्री समेत रहेकी झाँक्रीले ओलीका हावादारी गफले नयाँ पार्टीको जन्म भएको बताएकी हुन् ।

इतिहासमै बहुमत प्राप्त सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाउँदा समेत ओलीले हावादारी गफ गरेर सरकारको समय बिताएको उनले आरोप लगाईन् । मन्त्री झाँक्रीले भनिन्,‘ काम भन्दा पनि जनतालाई पानी मुनीबाट जहाज चलाउने, रेल गुडाउने, हावाबाट विजुली निकाल्ने जस्ता हावादारी गफ दिदै हिड्ने र पार्टीका कुनै पनि निर्णय नमान्दा अहिलेको अवस्था आएको हो ।’ ओलीले शुसासन भन्दा कुशासन दिने प्रयास गरेका कारण पार्टी फुटेर अहिलेको अवस्था आएको उनले बताइन । नेतृ झाँक्रीले भनिन्‘ सामान्य संवाद समेत नगरी एक्लै हिड्ने ओलीको बानीले नयाँ पार्टी जन्मिएको हो ।’ कुनै विज्ञ वा प्राविधिकको अध्ययन, सम्भाब्यताको खोजी विनै हावाको गफ दिएर ओलीले समय खर्चिएको बताउँदै उनले प्रधानमन्त्री जस्तो व्यक्तिले प्राविधिक, सम्भाव्यता, आवश्यकता बिनै प्रधानमन्त्री बोल्ने, बिना अध्ययान हावादारी गफ गरेर समय खर्चिए पछि जनताले समेत विश्वास नगरेको बताईन् ।

फरक प्रसंगमा मन्त्री झाँक्रीले सरकार सबै नागरिकको भएको बताएकी छन् । उनले जनताले अनुभूत हुने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् । मन्त्री झाँक्रीले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने समेत बताइन् । भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि सोहीविरुद्ध लड्ने मन्त्री झाँक्रीले उद्घोष गरिन् । मन्त्री झाँक्रीले समय धेरै नभएकाले जनअपेक्षाअनुसार काम गर्ने बताउँदै भनिन्, ‘हामीसँग समय छैन भनेर बस्ने छुट छैन, समय छोटो छ तर केही न केही गरेरै छाड्छौं ।’ पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले आफूले सम्हालेको मन्त्रालयबाट विकासको अवधारणलाई ध्यान दिएर सानादेखि ठूला शहरको विकासमा लागि समन्वय गर्ने बताइन् । सरकारले कसरी काम गर्ने र जनताको जीवनस्तरमा परिवर्तन कसरी गर्ने भन्ने विषयमा सबै निकायसँग समन्वय गरेर देखिने गरी काम गर्ने मन्त्री झाँक्रीको भनाई छ । छोटो समयमा धेरै काम गर्न नसके पनि सामान्य परिवर्तनका काम र निर्माणधिन आयोजनाका काममा जोड दिने उनको भनाई छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update