Shittalpati
गुल्मीमा सेवा प्रवाहलाई सरल र सहज बनाउन मन्त्री झाँक्रीको निर्देशन

गुल्मी,  सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारी सेवा प्रवाहलाई सरल र सहज बनाउन निर्देशन दिएकी छन् । मन्त्री भएपछि पहिलोपटक गुल्मी आएकी मन्त्री झाँक्रीले सोमवार गुल्मी जिल्लाका कार्यालय प्रमुखहरुसगँ भेटघाट गरी नागरिकहरुको सेवा प्रवाहलाई सरल र सहज बनाउन निर्देशन गरेकी हुन् ।

सरकारी सेवा प्रवाह झन्झटिलो भएको गुनासाहरु आउने गरेको भन्दै मन्त्री झाँक्रीले नागरिकहरुले सरल र सहज ढगंले सेवा लिन पाउने वातावरण निमार्ण गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएकी छन् । उनले गुल्मीका सबै सरकारी कार्यालयहरुले समन्वय गरेर जनताका कामहरु गर्न समेत निर्देशन गरिन । संघीय र प्रदेश सरकारहरुबाट जिल्लामा आएका योजनाहरु समयमै सम्पन्न भएका छन्, छैनन, निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गरेका छन् छैनन् भनि अनुगमन गर्ने काममा समेत सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुको ठूलो दायित्व रहने मन्त्री झाँक्रीले बताईन् ।

भेटघाट कार्यक्रममा गुल्मीदरवार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले सुरिक्षित आवास कार्यक्रम अन्र्तगत ५० हजार पाउने भनिए पनि २० हजार मात्रै नागरिकले प्राप्त गरेकाले कार्यक्रम अन्र्तगतको सबै रकम पाउने व्यवस्था मिलाउनु अनुरोध गरेका थिए । सहरी विकास मन्त्रालय संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीका सव ईन्जिनियर नारायण बूढा मगरले गुल्मीमा शहरी विकास मन्त्रालयबाट कार्यक्रम धेरै आउने तर बजेट थोरै आउने समस्या रहेको बताए । साथै उनले अहिले गुल्मीमा १९ वटा कार्यक्रमहरु सञ्चालन रहेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पून्य प्रसाद पौडेलले गुल्मेली जनताले जिल्लाका सबै सरकारी कार्यालयहरुबाट कानुनले दिएका सेवा सुविधा सजिलै पाउने वातावरण रहेको बताए । उनले जिल्लामा सञ्चालन रहेका विकास निर्माणका योजनाहरु समयमै र गुणस्तरीय काम गराउने प्रतिवद्वता समेत व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाको शान्ति सुरक्षा,विकास निर्माण,जनताका सेवाहरुको बारेमा जानकारी गराएका थिए । यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश कानुन, महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीको समेत सहभागीता रहेको थियो । मन्त्री घर्तीले पनि प्रदेश सरकारले गुल्मीका कार्यालयहरुसगँ समन्वय गरेर विकास निर्माण र सामाजिक रुपान्तरणका कार्यक्रमहरु सञ्चालन गर्ने बताईन ।

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update