Shittalpati
पीडितको नाममा चन्दा उठाउने धन्दा !

रामचन्द्र रायमाझी
पाल्पा, पछिल्लो समय पाल्पामा पीडितको नाममा अवैध चन्दा उठाउने गरेको खुल्न आएको छ । विभिन्न संघसंस्थाहरुको नामका रसिद लिएर पीडितहरुको नाम उल्लेख गर्दै अवैध चन्द रकम उठाउने गरिएको खुल्न आएको हो ।

तानसेन लगायत जिल्लाका ग्रामिण क्षेत्रहरुमा विभिन्न अपरिचित व्यक्तिहरु मृगौला पीडित, क्यान्सर पीडित, भूकम्प, बाढी, पहिरो तथा आगलागी पीडितको नाममा सहयोग उठाउने गर्दै आएका छन् । अपरिचित व्यक्तिहरुले जिल्लाबाहिरबाट नक्कली कागजपत्र बनाएर ठगी धन्दा चलाउदै आएको स्थानीयले गुनासो गर्दै आएका छन् । जिल्लामा अवैध चन्द संकलन भएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यलयको नजर त्यसतर्फ गएको छ । मिर्गौला पीडितका लागि भन्दै ठाउँ–ठाउँमा चन्दा संकलन गर्नेहरुको धन्दा चलिरहेको सूचना पाएपछि प्रहरीले जिल्लाका विभिन्न ठाउँहरुमा प्रहरी परिचालन गरी उनीहरुको खोजि कार्य थालेको छ । खोजतलास गर्दै जाँदा अन्ततः प्रहरीले गत सोमबार सूचनाको आधारमा अवैध चन्दा संकलन गर्नेहरुको पत्तो पायो । त्यसपछि पाल्पा प्रहरीले अवैध रुपमा चन्दा संकलन गरिरहेको आरोपमा पाँच जनालाई पक्रेको छ । गोरखा पालुङ्टार नगरपालिका –७, का ३६ वर्षीय दिपक भन्ने प्रदिप गुरुङ, मोरङ उर्लाबारी नगरपालिका–९ का ३३ वर्षीय धनबहादुर विश्वकर्मा, मोरङ पथरी शनिश्वर नगरपालिका ९ का ४३ वर्षीय राजेश खरेल, झापा कनकाई नगरपालिका–४का ३८ वर्षीय केदार विक र झापा कनकाई नगरपालिका ३ का ४६ वर्षीय सूर्यबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले तानसेन नगरपालिका –६, बसपार्कको करुवा होटलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए । उनका अनुसार उनीहरुले सामाजिक सहयोग नेपाल अभियान र मृगौला पीडित सहयोग लेखेको सहयोग रसिदबाट चन्दा संकलन गरिरहेका थिए । उनीहरु बसिरहेको होटलबाटै पैसा र थुप्रै रसिद प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुबाट प्रहरीले मृगौला पीडित सहयोग लेखेको सहयोग रसिद मध्ये काटेको १३ थान, नकाटेको १० थान, सामाजिक सहयोग नेपाल अभियानको सहयोग रसिदबाट काटेको १३ थान र नकाटेको १९ ठेली थान सहयोग रसिद बरामद गरेको छ । यस्तै अबैध रुपमा संकलन गरेको २१ हजार २ सय ५५ रुपैयाँ रकम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक त्वातीले जानकारी दिए । जे भनेर चन्दा संकलन गरिएको थियो, त्यसका लागि कतैबाट अनुमति लिएको प्रमाण नभेटिएको प्रहरीले जनाएको छ ।

अनुमति नलिई कसैले पनि आर्थिक सहयोग संकलन गर्न वा चन्दा उठाउन पाउँदैन । ‘नेपाल सरकार वा प्रदेश सरकारको पूर्व स्वीकृति लिई धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यको लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिन दिन बाहेक कुनै व्यक्ति वा सरकारी वा गैरसरकारी कार्यालय वा संस्थाले कसैबाट चन्दा उठाउन वा लिन हुँदैन,’ चन्दा ऐन २०३० को दफा ३ मा भनिएको छ । पक्राउ परेका पाँचै जनालाई चन्दा ऐनअनुसारकै कारबाहीका लागि मुद्दा चलाउने तयारी भएको प्रहरी नायव उपरीक्षक त्वातीले बताए । चन्दा ऐन २०३० ले ‘चन्दा उठाउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र त्यसरी उठाइएको चन्दाको रकम समेत निजबाट सरकारी बाँकी सरह असूल उपर गरिने’ व्यवस्था गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update