Shittalpati
परराष्ट्रमन्त्रीमा खड्का

पाल्पा, नेपाल सरकारको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन् । नेपाली काँग्रेसका नेता खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् । बुधबार बिहान प्रधानमन्त्री देउवाले काँग्रेसको परराष्ट्र विभागका प्रमुखसमेत रहेका खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

प्रधानमन्त्री देउवाको सिफारिसमा खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको नियुक्त गरिएको जानकारीसहितको पत्र राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा जनाइएको छ । नवनियुक्त परराष्ट्रमन्त्री खड्काले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिएका हुन् ।

मन्त्री नियुक्तिमा देउवाले एकलौटी निर्णय गरेको भन्दै पौडेल समूहले भने असन्तुष्टि जनाएको छ । अहिलेसम्म काँग्रेसबाट मन्त्री बनेका सबैजना देउवानिकट मानिन्छन् । काँग्रेस सभापतिसमेत रहेका देउवाले पदाधिकारी बैठकअघि नै खड्कालाई मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री देउवाले शपथ खाएको साढे दुई महिना पुग्नै लाग्दा एक मन्त्री थपेका हुन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा पठाउन प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका हुन् ।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update