Shittalpati
गुल्मीमा पार्टी विभाजनको पक्षमा नलाग्न एमालेको अपिल

गुल्मी, नेकपा एमाले गुल्मीले पार्टी विभाजनको पक्षमा नलाग्न कार्यकर्ताहरुलाई अपिल गरेको छ । एमालेले सचिवालय बैंठकमार्फत पार्टी विभाजनको पक्षमा नलाग्न सम्पूर्ण कार्यकर्तामा अपिल गरेको हो ।

पार्टीभित्रका केही स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टी बाहिरका विभिन्न शक्ति/तत्वहरूको षडयन्त्रका कारण पार्टीले असहज स्थितिको सामना गर्नु परेकाले त्यसको सामना गर्न बैंठकमा एमालेले निर्देशन दिएको छ । एमालेले संविधानको अपव्याख्या एवं विभिन्न स्वार्थ–समूहहरूको गठबन्धनको बलमा मुलुकमा अगाडि बढेको सामाजिक–आर्थिक रुपान्तरणको अभियानलाई अवरुद्ध गर्ने र राष्ट्रिय राजनीतिलाई पछाडी फर्काउने असंवैधानिक र अलोकतान्त्रिक प्रयास तीब्र पारिएको दावी समेत गरेको छ । बैंठकले आगामी कात्तिक ६ गते जिल्लाका ९३ वटा वडामा अधिवेशन गर्ने र कात्तिक ९ गते नगरपालिका र गाउँपालिकामा अधिवेशन गर्ने निर्णय गरिएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म विश्वकर्माले बताए । त्यस्तै असोज २० गते भित्र पार्टी सदस्यता नविकरण गर्नुपर्ने समय अवधि तोकेको छ । असोज १५, १६ र १७ गते काठमाडौंमा हुने विधान महाधिवेशनमा जिल्लाबाट सहभागिता जनाउने निर्णय गरिएको उपसचिव विश्वकर्माले बताए ।

बैंठकले जिल्लाका १२ वटा स्थानीय तहको इन्चार्ज तोकेको छ । जसमध्ये कालिगण्डकी गाउँपालिकामा टिकाराम ढकाल, सत्यवती गाउँपालिकामा अम्मर सिंजाली, चन्द्रकोट गाउँपालिकामा चेतन बस्नेत, रुरुक्षेत्र गाउँपालिकामा हिमाल श्रेष्ठलाई इन्चार्जको जिम्मेवारी दिएको छ । त्यस्तै छत्रकोट गाउँपालिकामा बिष्णु पौडेल, गुल्मीदरवार गाउँपालिकामा कृष्ण सुनार, रेसुङ्गा नगरपालिकामा डिल्लीराज भुसाल, मुसिकोट नगरपालिकामा जीवन खरेल, धुर्कोट गाउँपालिकामा कृष्ण घिमिरे, मदाने गाउँपालिकामा केशव चन्द, इस्मा गाउँपालिकामा लक्ष्मण पराजुली र मालिका गाउँपालिकामा रितबहादुर थापालाई इञ्चार्जको जिम्मेवारी दिइएको पार्टी उपसचिव विश्वकर्माले बताए । बैंठकले पार्टीलाई एकतावद्ध बनाउदै पार्टी कामलाई शसक्त ढङ्गले सम्पूर्ण कार्यकर्ता माझ लैजाने निर्णय गरेको छ । बैंठक नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीको प्रमुख आतिथ्यता र नेकपा एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य दिनेश पन्थी, जिल्लाका नेता कमलराज श्रेष्ठ लगायत सचिवालयमा रहेका सदस्यहरुको सहभागिता रहेको थियो । बैंठकको सञ्चालन नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटाको सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update