Shittalpati
आज काँग्रेसको सात जिल्लामा वडा अधिवेशन हुँदै

पाल्पा, विभिन्न कारणले स्थगित भएका नेपाली काँग्रेसको बाँकी सात जिल्लाको वडा अधिवेशन आज हुँदै छ । काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये बुधबार सात जिल्लाको अधिवेशन हुँदैछ । आज सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकै दिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा नहुने देखिएको हो । काँग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसले महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो । काँग्रेसमा करिब नौ लाखको संख्यामा क्रियाशील सदस्य रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update