Shittalpati
पाल्पामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, आज वडा अधिवेशन हुँदै

रामचन्द्र रायमाझी

पाल्पा, पाल्पामा नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ । कांँग्रेसको केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार यही भदौं १८ गते वडा तहको अधिवेशन तय भए पनि विविध कारणले स्थगित भएको पाल्पाको वडा अधिवेशन आज हुन लागेको छ ।

१० स्थानीय तह र ८१ वडा रहेको पाल्पामा नयाँ नेतृत्व पाउने भएकाले यतिबेला काँग्रेसका नेता तथा कार्यकर्ता उत्साही देखिएका छन् । आज सबै वडाबाट काँग्रेसको नयाँ नेतृत्व चुनिने छन् । वडामा चुनिने नेतृत्वसँगै पालिका, प्रदेश र जिल्ला अधिवेशनमा भाग लिन पाउने प्रतिनिधिसमेत छनोट हुने भएकाले जिल्लाको नेतृत्वदायी पदमा आकांक्षी देखिएका नेतासमेत आन्तरिक बैठक, छलफल र भेलामा जुटेका छन् ।

आज हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पुरा गरिएको नेपाली काँग्रेस पाल्पाले जनाएको छ । पाल्पा काँग्रेसले तोकिएको समयभन्दा ३ दिन ढिलागरी अधिवेशन गर्ने निर्णय गरेको थियो । केही वडाको क्रियाशील सदस्यता छुटेको र निर्वाचन अधिकृत आउन ढिलाइ गरेका कारण पाल्पा काँग्रेसले निर्धारित मितिमा वडा अधिवेशन गर्न सकेको थिएन ।

सम्पूर्ण तयारी पुरा गरेर सोमबार अधिवेशन गर्न थालिएको काँग्रेस जिल्ला सचिव झपेन्द्र गहिरेले बताए । उनका अनुसार जिल्लाका ८१ वटै वडामा निर्वाचन अधिकृत खटाई सकिएको र निर्वाचन सामग्रीहरु समेत पठाइसकिएको छ । वडा तहको निर्वाचनमा सहभागी हुन जिल्ला बाहिर रहेका काँग्रेसका कार्यकर्ता जिल्ला आइसकेका छन् । वडा तहको निर्वाचनमा नेतृत्व चयनका विषयमा व्यापक छलफल र बहसहरु भइरहेका छन् । सकेसम्म सहमति जुटाएर वडा समिति चयन गर्ने, सहमति नजुटेका केही स्थानमा निर्वाचन हुने पार्टी सचिव गहिरेले बताए । जिल्लाको निर्वाचन सम्पन्न गराउन पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई निर्वाचत अधिकृतको जिम्मेवारी दिएको छ । जिल्लामा ९ हजार १ सय ५८ जना क्रियाशील सदस्य रहेका छन् । जसमा ४ हजार ४ सय ५८ नयाँ सदस्य रहेका छन् । वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने काँग्रेसको विधानमा व्यवस्था रहेको छ । वडा अधिवेशनबाट वडा कमिटी चयन हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुने छन् ।

काँग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्ने छन् भने निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) कमिटी चयनका लागि मतदाता हुन् । केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांँग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ । पालिका, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनका लागि वडाबाट चुनिने प्रतिनिधि नै निर्णायक हुने भएकाले यतिबेला वडास्तरमा व्यापक बहस र छलफलले व्यापकता पाएको छ । आगामी नेतृत्वका लागि जिल्लामा धेरै व्यक्तिहरु बीच प्रतिस्पर्धा हुने संकेत देखिएपछि आ–आफ्नो पक्षका नेता कार्यकर्तालाई प्रतिनिधिमा जिताएर ल्याउन आन्तरिक कसरत सुरु गरेका छन् । काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ २७ गते गाउँ नगर अधिवेशन गर्नुपर्ने भएकाले २६ गतेसम्म वडा अधिवेशन गर्नैपर्ने बाध्यतामा काँग्रेस छ । यही भदौ २७ गते निर्धारित गाउँ/नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुनुपर्ने काँग्रेसले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update