Shittalpati
पाल्पा र गुल्मीमा शुक्रबार काँग्रेसको वडा अधिवेशन हुन सकेन

पाल्पा, नेपाली काँग्रेसको शुक्रबार हुने भनिएको वडा तहको अधिवेशन पाल्पा र गुल्मीमा हुन सकेन । केही वडाको क्रियाशील सदस्यता छुटेको र निर्वाचन अधिकृत आउन ढिलाइ गरेका कारण निर्धारित मितिमा वडा अधिवेशन हुन नसकेको हो ।

जिल्लामा केही वडाका क्रियाशील सदस्यहरुको नाम छुटेको र निर्वाचन अधिकृत जिल्ला आउन ढिलाइ भएकाले शुक्रबार वडा अधिवेशन गर्न नसकिएको नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताए । कालीगण्डकी २ मा भने आजै अधिवेशन हुँदै छ । त्यहाँ अधिवेशनको सम्पूर्ण तयारी भएकाले अधिवेशन हुन लागेको हो । 

पाल्पामा पनि वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेपनि प्राविधिक त्रुटिका कारण केही वडाका क्रियाशील सदस्यता छुटेकाले शुक्रबार अधिवेशन गर्न नसकिएको पार्टी सचिव झपेन्द्र गहिरेले बताए । उनले भने ‘अधिवेशनको तयारी हुँदा हुँदै पनि केही क्रियाशील सदस्यता छुट्न गएको र निर्वाचन अधिकृत समेत समयमै जिल्ला आउन नसकेका कारण निर्धारित समयमा वडा अधिवेशन गर्न सकेनौं, शनिबार जिल्ला समिति बैठक बसेर मिति तय गर्ने गछौं ।’ पाल्पामा क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेको छ । प्रकाशित नामवली अनुसार जिल्लामा ९ हजार १ सय ५८ जना क्रियाशील सदस्य रहेका छन् । जसमा ४ हजार ४ सय ५८ नयाँ सदस्य रहेका छन् ।

त्यस्तै गुल्मीमा १३ हजार ८ सय ३ जना क्रियाशील सदस्यता रहेको नेपाल प्रेस युनियन गुल्मीका जिल्ला सचिव रमेश विश्वकर्माले जानकारी दिए । उनका अनुसार ७ हजार ३ सय १२ नयाँ सदस्य थप भएका छन् । गुल्मी काँग्रेसले भने शुक्रबार हुन नसकेको वडा अधिवेशन भदौ २२ गते गर्ने भएको छ । काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ २७ गते गाउँ नगर अधिवेशन गर्नुपर्ने भएकाले २६ गतेसम्म वडा अधिवेशन गर्नैपर्ने बाध्यतामा काँग्रेस छ । क्रियाशील सदस्यता सूची प्राप्त भएका र आवश्यक तयारी पूरा गरिसकेका सबै वडामा सम्भव भएसम्म शुक्रबार नै अधिवेशन गर्ने र बाँकी नाम छुटेका तथा सूची मिलाउनुपर्ने वडामा समितिको स्वीकृती लिएर एक/दुई दिनपछि अधिवेशन गर्न सकिने काँग्रेसले जनाएको छ । क्रियाशील सदस्यता नामावली प्रकाशित हुन बाँकी २१ जिल्लाको सूची पनि क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ/नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुनुपर्ने काँग्रेसले जनाएको छ ।

५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न सकेको छैन । त्यसैले शुक्रबार सबै जिल्लामा वडा अधिवेशन हुन नसकेको हो । वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने काँग्रेसको विधानमा व्यवस्था रहेको छ । वडा अधिवेशनबाट वडा कमिटी चयन हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुने छन् । कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्ने छन् भने निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) कमिटी चयनका लागि मतदाता हुन् । केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांँग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ । विधान अनुसार २०७६ फागुनमै हुनुपर्ने काँग्रेसको महाधिवेशन पाँच वर्ष ६ महिनामा सुरु हुन लागेको हो । काँग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update