Shittalpati
सिद्धार्थ राजमार्ग खुलाउनै सास्ती

पाल्पा, निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अझै खुल्न सकेको छैन । निरन्तर वर्षा भइरहेकाले माथिबाट पहिरो झर्ने क्रम नरोकिए पछि राजमार्ग खुलाउनै सास्ती भएको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डमा शनिबारदेखि अवरुद्ध रहेको सडक खोल्न सकिएको छैन । लगातारको पानी परिरहेकाले तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार पहिरो हटाउन डोजर प्रयोग गरिए पनि भारी वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए । पानी रोकिए दिउँसो सम्ममा डुम्रेको पहिरो हटाइने जनाइएको छ ।

यस्तै सिद्धार्थ राजमार्गको पाल्पा–स्याङ्जा सडक खण्डको गल्याङ नगरपालिका– १ राम्दीमा पनि आइतबार गएको पहिरोले सडक अवरुद्ध रहेको छ । राम्दीस्थित बजारभन्दा माथिबाट ठूलाठूला चट्टानसहित पहिरो आएका कारण अवरुद्ध बनेको सडक खुलाउनका लागि डोजर लगाएर काम गरिरहे पनि निरन्तर पानी परिरहेकाले समस्या उत्पन्न भएको गल्याङ प्रहरी चौकीले जनाएको छ । पानी आइरहेकाले तत्काल सडक सञ्चालनमा आउन नसक्ने र समय लाग्ने भएको हो । पाल्पाका अन्य ग्रामिण सडक भने पहिरो पन्छाएर सवारी सञ्चालनमा ल्याइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update