Shittalpati
सवारी साहित्यका जोडजाम कुरा !

भोजराज भट्टराई

भदौको दोस्रो साता लाग्दासम्म पनि झरीले बिसाउने मन गरेको छैन । दुई दिन सार्वजनिक बिदा रहयो । बिदाको पहिलो दिन मैले नियमित कामको सूची तयार गर्न सकेन । बिहान सपरिवार सानो साधनमा छोटो दुरीको यात्रामा निस्कदा रोकिराखेको पिकअप भ्यानको पछाडी भेटेँ ।

‘सम्झे नजिक, विर्से टाढा’

अरु केही जोडजाम खुराक जुटाएर सवारी साहित्यबारे दुई वर्षदेखि अधुरो रहेको लेख बिट मार्न मलाई यही कोटेशनले जाँगर जगायो । अर्कोकुरा केही अंकदेखि फरक लेखलाई निरन्तरता दिन्छु भन्दै गर्दा यस अंकको लागि विशेष खुराक पहिल्याइ सकेको पनि थिइन । दुई वर्षदेखि सवारी साधनबारे टिपनटापन कुरा, केही पत्रिका र अनलाइनको सहारामा सवारी साहित्यका जोडजाम कुरा जुटाएँ ।

नं.नोट गर्न उपयुक्त लागेन । दुई वर्ष अगाडि काठमाडौं–बुटवल चल्ने गाडिमा लेखिएको थियो ः

‘वरीपरी पहाड बिचमा ताल छ,

बुद्ध जन्मेको देशमा बुद्धिको अनिकाल छ’

राजमार्गमा कुँदिरहेका सवारी साहित्यको मैले दुई वर्षदेखि खोज्दै जाँदा देशभक्ति भावनासँगै कतै प्रेम, कतै कुण्ठा, कतै गाली र कतै सान्त्वना पनि भटिन्थे । पहिले गाडिको अगाडि पछाडी लेखिने सायरीहरू अचेल ढोका या भित्र–क्याविन बारतिर देखिन्छन् । गाडिको अगाडि पछाडी लेखिने यस्ता साहित्यले ड्राइभरको रहर, बाध्यता र भोगाई पनि देखाउँथ्यो । सायरीले चालकलाई अलमल पार्‍यो भन्ने गुनासो बढेसँगै अहिले सवारी साधनमा सायरी राख्ने प्रचलन कम भइसकेको छ । लामा सायरीले सवारी साधन हाँक्दै गरेका चालकमा मनोवैज्ञानिक असर पर्ने र दुर्घटना हुने भन्दै यातायात विभागमा गुनासो पुगेदेखि यातायात व्यवस्था विभागले २०७६ पुष १७ गते बिहिबारदेखि सवारी साधनमा लामा सायरी हटाउने व्यवस्था लागु गरेदेखि अचेल प्रायः लामा सायरी साधनहरूमा कम देखिन्छन् ।

हर प्रहर, गाउँ र नगरी !

टोल–टोलमा नेपाल प्रहरी !!

यही अभियानसहित समुदाय–प्रहरी साझेदारी कार्यक्रमले २०७६ पौष ११ गते महानगरीय प्रहरी प्रभाग कोटेश्वरको आयोजनामा सरोकारवाला निकायहरूसँग गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताहरूले सडक तथा यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सरकार र व्यवसायी मिलेर अगाडि बढ्नुपर्ने बताएका थिए । मैले एपीवनमा त्यतिबेला प्रसारित कार्यक्रमका केही अंश नोट गरेको डायरीमा भेटे अनुसार, यातायात व्यवसायी महासंघका तत्कालिन महासचिव सरोज सिटौलाले सवारी साधनमा लेखिने अशोभनीय साहित्य हटाउनुपर्नेमा जोड दिनुभएको थियो । सोही कार्यक्रममा तत्कालीन महानगरीय ट्राफिक महाशाखा प्रमुख भीम ढकालले सवारी साहित्य हटाउन पहल गर्ने बताएका थिए । त्यसको एक साता नबित्दै सवारी साहित्य हटाइने व्यवस्था लागु भयो पनि ।

यद्यपी अझै पनि साधनका अगाडि पछाडी लामाछोटा सायरी हटाइ पनि ढोका वा भित्र देखिने ठाउँमा केही साधनमा सायरीहरू भेटिइरहन्छ । साधनको अगाडि पछाडी स्लोगन हटाउनु जायज भएपनि भित्र राखिने स्लोगनले दुर्घटनाको जोखिम नरहने चालकहरूको एकमत छ । ‘साधनभित्रका राम्रा सन्देशले यात्रुहरूलाई नै बरू रिफ्रेस बनाउँछ ।’ चालक राजेन्द्र श्रेष्ठले शनिबार बसपार्क पुग्दा पंक्तिकारलाई बताएका थिए । उनका अनुसार बाहिर हटाउनु जायज हो भित्रै राखिएका सन्देशमूलक कुरा हटाउनुपर्छ भन्ने कुराको खास औचित्य छैन ।

पत्रकार रोशन सिग्देलका अनुसार, कहिँकतै उच्छृङखल साहित्य भेटिए पनि कतिपय सवारीको पछि लेखिने यस्ता कविताले देश र समाजको अवस्था पनि झल्काउथे ।

नेपाल त पूरा ठीक थियो’

‘अब देशले कोल्टे फेर्छ भन्थे उत्तानो नै परेछ’

‘कृपया हर्न नबजाउनुहोला मेरो देश सुतिरहेको छ’

‘भाग्य कसैको पेवा होइन’ आदि आदि ।

दुई वर्ष अगाडि एउटै जीपमा बुटवल सहयात्रा गर्दा तत्कालीन पत्रकार महासंघ पाल्पा सचिव किरण कौशलले सवारी साहित्यले मानिसको जीवनका विभिन्न तरंगलाई कलात्मक ढंगले उजागर गर्ने प्रसङ्ग सुनाएका थिए ।

‘आफ्ना बेदना व्यक्त गर्ने यो रमाइलो किस्सा हो’ उनको ओजपूर्ण त्यो तर्क मेरो मष्तिस्कमा अझै ताजा छ ।

राजमार्गमा कुँदिरहेका सवारी साहित्यको मैले दुई वर्षदेखि खोज्दै जाँदा कतै प्रेम, कतै कुण्ठा, कतै गाली र कतै सान्त्वना पनि भेट्ने गर्दथेँ । मेरा मित्र इम्ररान खानले सवारी साहित्यका अनलाइनमा पोष्ट गरेका स्लोगनहरू मैले आफ्नो कम्प्युटरमा अझै सुरक्षित गरिराखेको छु । गाडिको अगाडि पछाडी लेखिने यस्ता साहित्यले ड्राइभरको रहर, बाध्यता र भोगाई पनि देखाउँथ्यो । यद्यपी अझैपनि साधनको ढोकामा या क्याविन वालनेर भेट्ने गरेका केही स्लोगनले राम्रै सन्देश दिएको पाइन्छ ।

‘पकेटमार देखि होसियार’

‘अपरिचित व्यक्तिले दिएको कुनै पनि चिज सेवन नगर्नुहोला’

‘तपाईँको सामान छुट्यो कि’

‘पशुपति नाथले हाम्रो यात्रा सफल पारुन्’

‘खाना खाने समय २० मिनेट मात्र’

‘धुम्रपान निषेध’

आदि आदि । यस्ता सन्देश हामीले अझै पनि सार्वजनिक बसका भित्री भागमा भेट्न सक्दछौं ।

सवारी साधनमा किन सायरी राखिन्छ भन्ने प्रश्न केही चालकबाट राख्दा त्यस्तो खास प्रसङ्ग नभएको धारणा बाहिर आयो । धेरैजसोले रमाइलो र रोमाञ्चकको लागि सायरी राखेको बताउँछन् । ‘प्राय लामो मालबहाक साधन कुँदाइरहँदा थकाई लागिरहेको हुन्छ, कहिलेकाँही आफ्नो गाडीमा लेखेको कुरा अर्काको गाडिमा पनि भेट्दा रोमाञ्चित भइन्छ ।’ ट्रक चालक प्रदिप ढुङ्गानाले किस्सा जोडे ।

सेतोपाटी डिजिटल पत्रिकामा रोशन सिग्देलले दुई वर्ष अगाडि आफ्नो लेखमा उल्लेख गरेअनुसार, छोटो कविताजस्तो बनाएर लेखिने यस्तो साहित्यलाई पछिल्लो समय ट्रक साहित्य नै भन्न थालिएको छ । यसमा मेरो फरक दृष्टिकोण के छ भने हिजोआज ट्रक मात्र नभएर लामो तथा छोटो दुरीका सवारी साधनले पनि मनलाग्दा वाक्याशंलाई साधनका भित्रि उपयुक्त ठाउँमा अंकित गरेर राखेको पाइन्छ । यसर्थ यसरी लेखिने वाक्यांशलाई धेरैजसो साधनले प्रचलनमा ल्याइसकेकोले यसलाई सवारी सायरी भन्न उचित ठान्दछु ।

मेरो डायरीमा रहे अनुसार दुई वर्ष अगाडि तानसेन–बुटवल चल्ने बसको पछाडी लेखिएका थिए,

‘यात्रा रहेछ जिन्दगी’

‘ट्राफिक नियमको पालना गरौं’

‘रक्सि पिउने रहर हुँदैन तर नपिएको प्रहर हुँदैन

भागेर जाउँ कुन ठाउँ जाउँ भट्टी नभएको शहर हुँदैन’

यसपङ्क्तिले पनि अचेल शायरी ट्रकले मात्र प्रयोग गर्दैनन् भन्ने कुरालाई जोडबल दियो । त्यसो त यस्ता सायरीहरू प्राय लामो दुरीका ट्रकमै बेसी भेटिन्छन् भन्नेमा म पूर्ण सहमत छु ।

मैले ई लुम्बिनी खबरमा दुई वर्ष पहिले प्रकाशित भएको लेखलाई खोज्दै जाँदा अनलाइनमा भेटेँ । उक्त लेखको साराशं थियो कि, तराई मधेशमा चल्ने अधिकांश ट्रकहरूमा हिन्दीमा लेखिएका रचनाहरू भेटिन्छन् । साहित्य सिर्जना समाजको सकरात्मक रुपान्तरणको लागि हुने गर्दछ तर कहिलेकाहीँ साहित्यमा विभेद पनि देखिएको छ । पछिल्लो समय ट्रक, लरी, बस, पिकअप, जीप लगायतका सवारी एवं मालवहाक साधनहरूमा लेखिएका वाक्याशंले नेपालमा महिलाप्रतिको दृष्टिकोण अझै फेरिएको हैन कि भन्ने आशंका सिर्जना गरेका छन् ।

हिजो आज सवारी साहित्य सवारी साधनका अगाडि पछाडी नराख्नुको रहस्य रफ्तारमा साधन कुदाइरहेका चालकको ध्यान नमोटियोस् र दुर्घटना नहोस भन्ने नै हो । यो प्रसंसनीय काम हो । तर भित्री भागमा राखिने सन्देशहरूले हामीलाई सावधानी, सचेत र स्वागतका भाव बोकेकै छन् । यस्ता सालीन र यादगार स्लोगनले हाम्रो लामो यात्राका थकानलाई कम गर्ने छन् । यात्राको झ–झल्को मेटाउने छन् । ती किस्साहरूले यात्रुलाई संक्षिप्त यात्रामा हुने कुराहरूको ध्यान केन्द्रित गर्ने छन् ।

बरु अचेल कोभिड महामारी छ, सार्वजनिक यातायातमा पकेटमारको विगवीगी हुन सक्छ । लागु औषधको धन्दा भएको हुन सक्छ । यसको न्यूनीकरणका लागि कोभिड सतर्कका सन्देश, पकेटमारदेखि सावधानका सन्देश, ध्रुमपान लागु औषध प्रयोग र ओसारपसार कम गर्ने सन्देश राख्ने हो भने समयानुकूल प्रभावकारी हुने देखिन्छ ।

कुनै–कुनै यात्राका कुराहरू सधैं यादगार हुने छन् । मैले आठ कक्षा पढ्दै गर्दा यात्राका क्रममा बसमा भेटेको कुरा डायरीमा टिपेको रहेँछु ।

‘भावनामा चोट नदेउ, मन दुःखाएर दुनिया नहसाऊ । आफ्नो रहर र बाध्यता आ–आफ्नो ठाउँमा छ । सुखसयलको जीन्दगी सबैको हुन्छ तर समयलाई आफ्नो काबुमा राख्दै जीन्दगीको हरेक सेकेण्डको महत्व जान्नुपर्छ’ मैले त्यतिखेर टिपोट गरेको यो वाक्याशं अहिले बाइस वर्षपछि पनि उस्तै प्रेमिल र सार्थक लाग्दछ । यो एउटा सामान्य उदाहरण मात्र हो ।

निष्कर्षमा सार्वजनिक, भाडाका वा निजी सवारी साधनमा सन्देशपरक प्लेकार्डहरूको प्रयोगले सामाजिक सद्भाव र सूचना प्रवाहमा प्रभावकारी भूमिका खेल्दछ भन्ने हो । सरकारी, संस्थान र सार्वजनिक महत्व झल्किने विषयवस्तुलाई स्टीकर, प्लेकार्ड बनाई या पहिले सवारी साधनमा राखिने जस्तै भित्री बाहिरी भागमा यात्रुले देखिने गरी प्रयोग गर्दा नागरिकमा सार्वजनिक महत्वका सूचना प्रवाह हुने, यात्राका संयमता र सजगताका सन्देशले सडकमा गुड्ने साधन यात्रुमैत्री हुने देखिन्छ ।

( लेखक स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष तथा परेवा पाक्षिकका सम्पादक समेत हुन् ।)

 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update