Shittalpati
लुम्बिनी प्रदेश सभाको बैठक तेस्रो दिन पनि स्थगित

बुटवल, लुम्बिनी प्रदेश सभाको बैंठक तेस्रो दिन बिहीबार पनि अवरुद्ध भएको छ । विपक्षी दल एमालेले दुई प्रदेशसभा सदस्यलाई पदमुक्तको माग गर्दै लगातार अवरुद्ध गर्दै आएपछि बैठक पुनः स्थगित भएको हो । बिहीबार बस्ने भनिएको तेस्रो बैठक सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा सूचना टाँसेर स्थगित भएको छ । अर्को बैठक यही भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने छ । राजनीतिक दलसम्बन्धी ऐनको बर्खिलाप कुलप्रसाद केसी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सांसदद्वय अजयबहादुर शाही र बिमला वलीलाई कारवाही गरेको पार्टीको केन्द्रीय कमिटिले त्यसको सूचना प्रदेश संसदीय दलमार्फत प्रदेश सचिवालयलाई बुझाइसकेको छ । उक्त पत्र प्रदेशसभामा पढेर सुनाउन र सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न एमालेले माग गर्दै आएको छ  ।

राजनीतिक दलसम्बन्धी ऐनभन्दा बाहिरबाट माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गरेको भन्दै नवलपरासी पश्चिमबाट सूर्य चिह्नबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य अजयबहादुर शाही र दाङको उपनिर्वाचनमा नेकपाबाट विजयी भएर नेकपा विघटनपछि माओवादी केन्द्र रोजेकी बिमला वली खत्रीलाई एमालेले कारबाही गरेकाले पदमुक्त गर्न सभामुखलाई दबाब दिँदै आएको हो । वलीलाई एमालेको केन्द्रीय कमिटीले कारबाही गरेको पत्रसहितको सिफारिस एमाले संसदीय दलले मंगलबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो । उक्त पत्र प्रदेशसभा बैठकमा पेश गर्न पनि एमालेले माग गरिरहेको छ । तर वलीले राजनीतिक दल सम्बन्धी ऐन अनुसार नै आफूले नेकपा विघटनपछि माओवादी केन्द्र रोज्ने निर्णय गरेको र शाहीले आफू सूर्य चुनाव चिह्न लिएपनि स्वतन्त्र समूहबाट निर्वाचित भएकाले एमालेले कारबाही गर्न नसक्ने दाबी गर्दै आएका छन् ।
बैठकको पहिलो दिनदेखि नै एमालेका सांसदहरुले होहल्ला गर्दै बैठकमा अवरोध सिर्जना गर्दै आएका छन् । निरन्तर अवरोध गरिरहेपछि बैठक स्थगित हुुँदै आएको छ । एमालेले सांसदहरु अजय शाही र विमला खत्रीलाई पदमुक्त नगरिएसम्म संसद चल्न नदिने अडान लिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update