Shittalpati
लुम्बिनी प्रदेश सभामा विपक्षीको अवरोध

बुटवल,  लुम्बिनी प्रदेश सभाको बैठकमा विपक्षी दल एमालेको अवरोधपछि मंगलबारको बैठक केहीबेर चलेर स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेको थियो । सांसद अजय बहादुर शाही र विमला वलीको विषयमा निर्णय लिन दवाव दिँदै एमालेले बैठकमा अवरोध गरेको हो । दिउँसो १ बजेको लागि डाकिएको बैठक विवादका कारण साढे दुई बजे शुरु भएको थियो । बैठकमा सभामुख पुर्ण बहादुर घर्तीले प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउँदै बुधबार १ बजेसम्मका लागि बैंठक स्थगित गरेका थिए ।

एमालेले आफ्ना दुई प्रदेशसभा सदस्यलाई कारबाही गर्न माग गर्दै सभामुख पूर्णबहादुर घर्तीलाई सभाको बैठक सुरु हुनु केहीबेर अघि पत्र बुझाएको थियो । पत्रकै कारण निर्धारित समयभन्दा झण्डै डेढ घण्टा ढिला सुरु भएको बैठकमा विपक्षी दलको पत्रको विषयका कारबाही अघि नबढाएको र सदनलाई जानकारी पनि नदिएको भन्दै एमालेले बैठक अवरोध गरेको हो । विपक्षी दल एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेले कारबाहीका लागि गरेको सिफारिस बेवास्ता गरेपछि बैठक अवरुद्ध गरेको बताए । कारबाही प्रक्रिया अघि नबढेसम्म बैठक चल्न नदिने विपक्षीको अडानपछि साढे दुई बजे बैठक सुरु भएको थियो । बैठक सुरु गर्नासाथ विपक्षी दलका प्रमुख सचेतक ढकालले कारबाहीको माग गरेका थिए । विपक्षी दलका सांसदले पनि उठेर विरोध जनाएका थिए ।

विरोधका बीच सभामुख घर्तीले प्रदेश प्रमुख अमिक शेरचनको अधिवेशन आह्वान सम्बन्धी र सरकार गठन सम्बन्धी पत्र पढेर सुनाएका थिए । दुवै पत्रको पढेर बैठकलाई जानकारी गराएपछि बैठक बुधबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update