Shittalpati
तानसेन–बुटवल सडक खण्डमा यात्रा गर्दा शौचालयको चिन्ता चट

कृष्ण पोखरेल
पाल्पा,  तानसेनकी गीता थापा श्रीमानसँग बुटवलबाट घर फर्किदै थिइन । यात्राको क्रममा थापालाई बाटोमा दिशाले च्याप्यो । उनलाई पिसाव गर्न सहज भए पनि दिशा गर्न भने सुरक्षित शौचालय नै चाहियो, जहाँ मन लाग्यो त्यहाँ दिशा पिसावको लागि उनलाई सहज थिएन ।
बुटवल तानसेन सडकको चर्चरे आईपुग्दा खुला स्थानमा सेतो सार्वजनिक शौचालयमा थापाको नजर पुग्यो । श्रीमानलाई मोटरसाईकल रोक्न लगाईन र उनी सार्वजनिक शौचालयमा पुगिन् । शौचालयको ढोका खोल्ने वित्तिकै थापाले घरको जस्तै सफा शौचालय देखेपछी सहज रुपमा दिशा पिसाव गरिन । उनले आफुले मात्र दिशा पिसाव गरिनन् श्रीमानलाई समेत सफा शौचालय देखेपछी दिशा पिसावको लागि बोलाईन । सार्वजनिक शौचालयमा राम्रो सरसफाई देखेर थापाको मन खुसी थियो । उनले यताउति हेरिन, शौचालयको दुबैतर्फ दुईवटा हातधुने ठाउँ पनि थियो । हेन्ड वाससँगै सर्वसाधरणको लागि एक/एक वटा हात धुने सावुन समेत राखिएकाले थापाले मिचि –मिची सावुन पानीले हात धोइन । सर्वसाधरणले यो सुविधा पाए पनि कुनै शुल्क तिर्नु पर्दैन । थापाले दिशा पिसाव गरी, सावुन पानीले हात धोएपछी मात्र यति राम्रो सार्वजनिक शौचालय कसले बनाएको रहेछ भनि वाल पेन्टिङ हेरिन । तिनाउ गाउँपालिकाले बनाएको सार्वजनिक शौचालय भएको थाहा पाईन । थापाले श्रीमानसँग कुरा गर्दै भनिन् खै सरकारी शौचालय रहेछ, कति दिन यति राम्रो अवस्थामा टिक्ने हो कुन्नि भन्दै श्रीमानसँग मोटरसाईकल चढेर तानसेनतर्फ लागिन । तानसेन बुटवल सडक खण्डको ४० किलोमिटर क्षेत्रमा कुनै पनि सार्वजनिक शौचालय नभएको समयमा तिनाउ गाउँपालिकाले सार्वजनिक दायित्व अन्र्तगत गत आर्थिक बर्षको अन्त्यमा सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको तिनाउँ ५ चर्चरेमा सार्वजनिक शौचालय निर्माण गरेको हो । गाउँपालिकाले १५ लाख रुपैयाँको लागतमा एक वटा पुरुष, एक वटा अपाङ्ग र दुई वटा महिला शौचालय, दुई स्थानमा हात मुख धुने, दुई वटा ऐना सहितको शौचालय निर्माण गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ति मगरले बताए ।
शौचालयलाई नियमित रुपमा सरसफाई, नियमित रुपमा धारा र रेखदेख, सावुन पानीको व्यववस्था गर्न स्थानीय व्यक्तिलाई काममा खटाइएको अध्यक्ष घर्तिले बताए । तिनाउ गाउँपालिका खुला दिशामुक्त गाउँपालिका भई पूर्ण सरसफाईतर्फ ध्यान दिएको, राजमार्ग क्षेत्रमा जथाभावी दिशा पिसावको फोहोर नहोस् भनि नमूनाको रुपमा यो अभियान शुरु गरेको प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । उनले भने ‘अहिले त राम्रो छ, सबैले प्रंशसा पनि गरेका छन् तर यो प्रशंसालाई सधै टिकाउने गरी व्यवस्थापनको चुनौती भने गाउँपालिकालाई रहेको छ ।’ अहिले तानसेन–बुटवल यात्रा गर्दा जो कोहीको सार्वजनिक शौचालयतर्फ ध्यान गएको पाईन्छ ।
शौचालयको नियमित सरसफाईले सबै यात्रुहरुको मन जितेको छ । सार्वजनिक शौचालय सामान्य विषय भएपनि, यसको रेखदेख सञ्चालन र सरसफाई प्रमुख विषय हुँदो रहेछ, चर्चरेको सार्वजनिक शौचालयले अहिलेसम्म सरसफाईमा ध्यान दिएको स्याङ्जा मालुङ्गाका अर्जुन भण्डारीले बताए । आफु तानसेन–बुटवलको यात्रा गर्दा अहिले सार्वजनिक शौचालय प्रयोग गर्दै आएको भण्डारीले बताए । अहिले त राम्रो सफा छ, हात धुने ठाउँमा सावुन, नियमित सरसफाई छ एक दुई महिना राम्रो गर्ने फेरी उही फोहोरको अवस्था नहोस् सधै यस्तै सफा शौचालयमा दिशा पिसाव गर्न पाईयोस् हामी जस्ता सडक यात्रुहरुको चाहाना रहेको भण्डारीको भनाई छ । सार्वजनिक शौचालयको स्थानीय दलबहादुर कनौजेले नियमित रुपमा सरसफाई गर्दै आएका छन् । बिहान ८ बजे देखी बेलुका ७ बजेसम्म दलबहादुरका परिवारले सार्वजनिक शौचालयको सरसफाई रेखदेख गर्दै आएका छन् । सरसफाई तथा रेखदेख वापत गाउँपालिकाले दलबहादुरको परिवारलाई राजमार्ग क्षेत्रमै चिया खाजा पसलको लागि निःशुल्क रुपमा सार्वजनिक जग्गा उपलब्ध गराएको छ । देशका अधिकाशं सार्वजनिक शौचालयमा दिशा पिसाव गर्दा मन सरर हुँदैन । विभिन्न संस्था निकायबाट शार्वजनिक शौचालय निर्माण गरी सञ्चालनमा ल्याएपनि त्यसको व्यस्थित सञ्चालन भएको पाईदैन । नियमित सरसफाई र रेखदेखमा ध्यान नपुर्‍याउदा सार्वजनिक शौचालयले रोग फैलाउने केन्द्रको रुपमा विकसित भएको देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update