Shittalpati
तानसेनको पिपलडाँडामा पुग्यो खानेपानी

रामचन्द्र रायमाझी
पाल्पा, खानेपानीको समस्या झेलिरहेका तानसेन मदनपोखराको पिपलडाँडाका सबै घरमा अहिले खानेपानी पुगेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा यहाँका प्रत्येक घरमा खानेपानी पुगेको हो ।
यहाँ अहिले खानेपानीको धारा घर–घरमै जडान भएपछि स्थानीय दङ्ग परेका छन् । एक गाग्री पानीका लागि दैनिक घण्टौंसम्म समय खेर फाल्नुपर्ने बाध्यता रहेको स्थानीयवासीलाई अहिले घरको आँगानमै लिफ्टिङ्ग मार्फत स्वच्छ पिउने पानी आएपछि सपना जस्तै लाग्न थालेको छ ।
आँगनमा खानेपानीको धारा आउला भनेर कल्पना समेत नगरेकी पिपलडाँडाकी मेनका चिदीलाई आजभोलि सपना जस्तै लागेको छ । लामो समयसम्म पानीको समस्या समधान हुन नसकेको र अहिले आएर आँगनमै पानीको धारा खस्दा आफुलाई सपनाजस्तै लागेको चिदी बताउँन्छिन् । उनी भन्छिन्,‘यसरी पानी आउला भन्ने कल्पना समेत गरेकी थिइन, अहिले पानी आयो अब सबै समस्या समधान हुने भयो ।’ गत वर्षसम्म हरियो तरकारीमा परनिर्भर भएकी चिदी तरकारीमा समेत आत्मनिर्भर भएकी छन् । टिकीसरा चिदीले पनि खानेपानीकोे सहज सुविधा होला भनेर सपनामा पनि नचिताएको बताइन् । ‘पानी लिनका लागि घण्टौं कुर्नुपर्दा बालबालिकालाई विद्यालय पठाउन, मेलापात गर्नसमेत गाह्रो भएको थियो’, उनले भनिन्, ‘अहिले समयको पनि बचत भएको छ, बिहान घरधन्दा गरेर मेलापात गर्न पनि सजिलो हुन थालेको छ ।’ ‘धारामा पानी लिन एक घण्टासम्म लाइन बस्दा पनि पानी नपाएर रित्तै गाग्री लिएरसमेत फर्कनु पथ्र्यो, पानीको अभाव हुँदा कहिले त गाउँ नै छोडर जाउँ जस्तो पनि लाग्थ्यो, अहिले घरमै पानी आएपछि गाउँ नै स्वर्गजस्तो लाग्न थालेको छ’ चिदी भन्छिन् । पाँच वर्ष अगाडिसम्म मदन पोखराको कर्णाली भनिने यस बस्तीमा खानेपानीको समस्या समाधानको लागि लिफ्टिङ्ग खानेपानी योजना सम्पन्न भएसँगै पानीका लागि आधारातमा उठ्नु पर्ने बाध्यताको अन्त्य भएको स्थानीय देबिका शारुले बताइन् ।
खानेपानी पुगेपछि अहिले स्थानीय बासिन्दाको दैनिकीमा परिवर्तन आएको छ । सबैले धाराबाट खेरा गएको पानीलाई प्रयोग गरी मौसमी, बेमौसमी तरकारी लगाई जीवनस्तरमा समेत परिवर्तन ल्याएका छन् । लामो प्रयास र चित्कार पछि सबैको घर घरमा खाने पानीको सुविधा पुगेको स्थानीय देवबहादुर चिदीले बताए । उनले भने ‘सबैको घर–घरमा खानेपानीको व्यवस्थापन भएपछि खानेपानीको सुविधा मात्र नभई व्यक्तिगत सरसफाईको क्षेत्रमा समेत परिवर्तन आएको छ ।’ पानीको समस्याका कारण यहाँबाट सुविधा सम्पन्न ठाउँको खोजीमा जाने क्रम बढेको थियो । यहाँबाट करिव पचाँस भन्दा बढि घर परिवार अन्यत्र बसाई सरिसकेका थिए ।
जब गाउँमा खानेपानीको सुविधा र मोटर बाटोको लागि सहज भयो त्यसपछि गाउँ छाडेकाहरु गाउँ फर्किएर सुविधा सम्पन्न घरहरु निर्माण गर्ने होडबाजी नै चलेको स्थानीय ज्ञानबहादुर सारुले बताए । लिफ्टिङ्ग खानेपानी सम्पन्न गर्नका लागि स्थानीय उपभोक्ताले श्रमदान समेत गरेको उपभोक्ता समितिका अध्यक्ष मिन बहादुर शारुले बताए । बस्ती भन्दा झण्डै दुई सय मिटर तलबाट लिफ्टिङ्ग गरिएको यस खानेपानी योजनाबाट ५० घर परिवारका झण्डै तीन सय परिवार लाभान्वित भएका छन् । नेपाल सरकारको ४१ लाख ४६ हजार र स्थानीय उपभोक्ताको १२ लाख २३ हजार गरी ५३ लाख ६७ हजार लागतमा योजना सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका ईन्जिनियर तथा सूचना अधिकार विधान अर्यालले बताए ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update