Shittalpati
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त

बुटवल, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले भर्खरै नियुक्तिपत्र बुझेको माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले बताए । केसी रोल्पाको निर्वाचन क्षेत्र १ को ’क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए । उक्त समयमा उनको मात्रै दाबी परेको थियो । लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्री केसीको आजै शपथ ग्रहण गरी सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी छ । सरकारमा जाने मन्त्रीको आकांक्षी धेरै भएकाले नेताहरुलाई हम्मेहम्मे छ । जसपाका तीन जना मन्त्री बन्दैछन् । माओवादी, कांग्रेसले भने मन्त्री छनौट गरिसकेका छैनन् एक/एक जना मन्त्रीसहित केसीले शपथ ग्रहण गर्ने बताइएको छ । जसपाका तीनमन्त्रीमध्ये दुई महिलालाई विनाविभागीय बनाइने छ । जसपाका अहिले तीनजना मात्रै सांसद छन् । तीनैजना मन्त्री हुन लागेका हुन् । दलका नेता सहसराम यादव, पुर्मती ढेगा र सुमन शर्मा रायमाझी मन्त्री हुने छन् । रायमाझी यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेर राजिनामा दिएकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update