Shittalpati
रामपुरमा डिएसपीको दरबन्दी माग

पाल्पा, जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा डिएसपीको दरबन्दी माग गरिएको छ । रामपुर क्षेत्रमा जनसंख्या बढ्दै जाँदा जनशक्ति अभावमा असुरक्षा समेत बढ्दै गएको भन्दै रामपुर नगरपालिकाले गृहमन्त्री समक्ष डिएसपीको दरबन्दी माग गरेको हो ।

नगर प्रमुख रमणबहादुर थापासहितको टोली गृहमन्त्रालय सिंहदरबार पुगी गृहमन्त्री बालकृष्ण खाँणलाई भेटी रामपुरमा डिएसपीको दरबन्दी मिलाइदिन माग गरेका हुन् ।

रामपुर क्षेत्र भिन्न प्रदेश र जिल्लाको सिमानाले जोखिम र सुरक्षाको दृष्टिकोणले संवेदनशिल रहेको र हालको सुरक्षाकर्मी न्यून हुँदा सेवा दिन कठिनाई परेको पत्रमा उल्लेख गर्दै इलाका प्रहरी कार्यालय रामपुरमा डीएसपी दरबन्दी कायम गरि दरबन्दी थप गर्न आग्रह गरिएको छ । खुल्ला नाकाहरुका कारण रामपुर क्षेत्र जोमिख र असुरक्षित बन्दै गएको नगर प्रमुख थापाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । ‘ रामपुरमा बढ्दो शहरीकरण सँगै दिनानुदिन अपराध, घरेलु हिंसा जस्ता सामाजिक गतिविधिहरु वृद्धि हुँदै जाँदा यस्ता सामाजिक गतिविधिहरु न्यूनिकरण र व्यवस्थित गर्न हाल नगरमा अव्यवस्थित रुपमा रहेको इलाका प्रहरी कार्यालयमा सुरक्षाकर्मी न्यून रही कठिनाई भएकाले नगरपालिकामा शान्ति सुरक्षा, संवेदनशिलताको हिसावले अति आवश्यक देखिएको र नेपाल सरकारका निवर्तमान मुख्य सचिव लोकदर्शन रेग्मीद्वारा आश्वासन समेत प्राप्त भएको हुँदा दरवन्दी सहितको डिएसपी कार्यालयको व्यवस्था गरिदिनुहुन अनरोध छ’ पत्रमा उल्लेख छ ।

रामपुरमा डिएसपी दरबन्दीको लागि झण्डै दशकदेखी कुरा उठ्दै आएपनि रामपुरले दरबन्दी पाउन सकेको छैन । अहिलेका गृहमन्त्रीले भने यो विषयलाई छलफलमा लैजाने आश्वासन दिएको नगर प्रमुख थापाले बताए । नगर प्रमुख थापा सहित लुम्बिनी प्रदेश सांसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीर बहादुर राना, युवा नेता हिमालदत्त श्रेष्ठ सहितको टोलीले गृहमन्त्री खाँणसँग भेट गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update