Shittalpati
बगनासकाली गाउँ सरकारको बजेट ८२ प्रतिशत खर्च

रामचन्द्र रायमाझी
पाल्पा,कोभिड महामारीको दोस्रो लहरबीच बजेट खर्चमा सुधार देखिएको छ । जिल्लाको बगनासकाली गाउँ सरकारले आर्थिक २०७६/०७७ को तुलनामा २०७७/०७८ मा बजेट खर्च केही बढाउन सकेको छ । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गाउँपालिकाले अहिले दुई प्रतिशतले बजेटको आकार वृद्धि गरेको हो ।

उसले आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोन गरेको बजेटमध्ये ८२.७४ प्रतिशत खर्च गरेको छ । कुल ४८ करोड एक लाख ८५ हजार ५ सय ७० रुपैयाँ बजेट विनियोजन भएकोमा असार मसान्तसम्म ४० करोड ३१ लाख ८२ हजार ४ सय ७३ रुपैयाँ अर्थात् ८२.७४ प्रतिश खर्च भएको गाउँपालिकाका लेखा अधिकृत कोशलराज पौडेलले बताए । उनका अनुसार चालूतर्फ २९ करोड, ५१ लाख, १ हजार २ सय ६५ रुपैयाँ खर्च भएको छ भने पुँजीगत तर्फ १० करोड ८० लाख ८१ हजार २ सय ८ रुपैयाँ खर्च भएको छ । यो कुल खर्चको चालूतर्फ ८६.४५ प्रतिशत र पुँजीगततर्फ ७४.०८ प्रतिशत खर्च हो । आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाले ८०.९५ प्रतिशत बजेट खर्च गर्न सफल भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा दुई प्रतिशतले बजेट खर्च बढेको हो । आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाले कुल खर्चको ८५.९२ प्रतिशत चालु र ७०.६६ प्रतिशत पुँजीतर्फ खर्च गरेको थियो ।

आर्थिक वर्षको सुरुवातदेखि नै योजना तथा विकास निर्माणका कामहरु धमाधम गरिदै आएकोले बजेट खर्चको आकार बढ्न गएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनले भने ‘कर्मचारी र जनप्रतिनिधिहरु योजना र विकास निर्माणका काममा सक्रियताका साथ लागेका कारण नै यस वर्ष बजेट खर्च बढाउन केही हदसम्म सफल भएका हौं ।’ कोरोना महामारीका बेलामा पनि कामहरु भएको उनको भनाई छ । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा बजेट खर्च ९० प्रतिशत भन्दा बढी नै खर्च हुने आकंलन गरिए पनि गाउँपालिकाको भवन निर्माणलाई छुट्याइएको १ करोड बजेट र कोभिडका कारण केही योजनाहरु प्रभावित हुन पुगेकाले खर्चप्रतिशत केही कम भएको हो तर यो औसतमा बढी नै छ । भवन निर्माणका लागि जग्गा नहुँदा काम हुन नसकेको उनले बताए ।

गाउँपालिकाले हरेक वर्ष चालु भन्दा पुँजीगत खर्चलाई बढाउदै लगेको छ । उसले आर्थिक वर्ष २०७६/०७७ मा ७० प्रतिशत पुँजीगत खर्च गरेकोमा आर्थिक वर्ष २०७७/०७८ मा आएर ७४ प्रतिशत खर्च गर्न सफल भएको छ । यो ४ प्रतिशतले पुँजीगत खर्चमा वृद्धि भएको हो । चालु खर्च भन्दा विकास खर्चलाई बढाउदै लगिएको अध्यक्ष बस्यालको भनाई छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ४६ करोड, २६ लाख ३२ हजार ४ सय ३७ बराबरको बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update