रमेश विश्वकर्मा
गुल्मी, अर्घाखाँची जिल्लाको छत्रगञ्जका श्रेष्ठ परिवारले तीन करोड लगानीमा कृषि फार्म सञ्चालनमा ल्याएका छन् । आफ्नो आधार भूत आवश्यकता पूरा गर्नको लागि दिनानुदिन लाखौँको संख्यामा नेपालीहरु विदेशमा गईरहेको बेला छत्रगञ्जका श्रेष्ठ परिवारले भने आफ्नो पूख्र्यौली सम्पत्तिको सदुपयोग गर्दै कृषि फार्म सञ्चालनमा ल्याएका हुन् । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ५ छत्रगञ्ज अमराईका तिलक कुमार श्रेष्ठ, महेन्द्र कुमार श्रेष्ठ, पवन कुमार श्रेष्ठ, प्रकाश कुमार श्रेष्ठ र बलप्रसाद श्रेष्ठ सहित उनका छोराहरु तेजेन्द्र कुमार श्रेष्ठ, नेत्र कुमार श्रेष्ठ, प्रेम कुमार श्रेष्ठले तीन करोड लगानीमा एक सय छ रोपनी जग्गामा छत्रदेब बहुउद्देश्यीय कृषि फार्म प्रा.लि सञ्चालन गरेका छन् ।
गत वर्षको माघ महिनादेखी सुरु गरिएको उक्त कृषि फार्ममा अहिले बोयर जात र खरी जातका ६० वटा बाख्रा, ग्रिन हाई टेक टनेल एक वटा, साथै टमाटर, काउली, बन्दा, प्याज, लसुन, खुर्सानी र केरा खेती गरिएको छ । फार्ममा अहिले लोकल कुखुरा, टर्की, बोइलर कुखुरा र बँदेल पनि पालिएको छ । त्यस्तै माछा पालन समेत गरिएको छ । श्रेष्ठ परिवारले काठमाडौं, नारायणगढ, गुल्मीको तम्घास लगायतका विभिन्न स्थानहरुमा व्यवसायिक रुपमा कृषि गर्दै आएका छन् ।
११ जनालाई रोजगार :
सञ्चालित कृषि फार्मबाट ११ जनाले रोजगार पाएका छन् । न्यूनतम १५ हजारदेखी अधिकतम २५ हजारसम्म तलबमा ११ जना कामदार राखिएको फार्म सञ्चालक बलप्रसाद श्रेष्ठले बताए । कृषि फार्म सुरुसुरुमा भएकाले अहिले पनि लगानीको काम चलिरहेको छ । अहिलेसम्म तीन करोड लगानी गरिएको बलप्रसाद श्रेष्ठका छोरा तेजेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । सरकारले बेवास्ता गर्यो : सञ्चालक श्रेष्ठ कृषि फार्म सञ्चालक बलप्रसाद श्रेष्ठले ठूलो लगानी गरेर कृषि फार्म सञ्चालन गरिरहे पनि सरकारले केही सहयोग नगरेकोे गुनासो गरे । कृषिप्रधान देशमा कृषकलाई प्रोत्साहन हुनुपर्ने हो ।
कृषि फार्म सञ्चालक श्रेष्ठले भने । उनले सरकारले बेवास्ता गरेको बताए । अहिलेसम्म मात्रै ग्रिन हाई टेक टनेल ७५ प्रतिशत अनुदानमा लिएको बताउँदैै श्रेष्ठले भने, ‘हामीलाई सरकारबाट अरु कुनै सहयोग भएको छैन् ।’ राजनैतिक दल जसको सत्ता आएपनि कसैले अनुदान नदिएको बलप्रसादले गुनासो गरे । उनले सबै आफ्नो स्वार्थका पछि लागेका छन् भन्दै कृषकलाई प्रोत्साहन नगरिनु दुःखत् विषय भएको बताए । बलप्रसादलाई अन्य अरु श्रेष्ठ परिवारले उक्त कृषि फार्ममा साथ दिएका छन् ।
कृषि ज्ञान केन्द्र अर्घाखाँची कार्यालयले बारम्बार सहयोग गर्ने आशा देखाएपनि अहिलेसम्म सामान्य केही पनि सहयोग नगरेको तेजेन्द्रले गुनासो गरे । उनले यो फार्म हेर्नका लागि विभिन्न तहमा काम गर्ने कर्मचारी, राजनीतिक दल, जनप्रतिनिधिहरु आए तर यसको लागि कुनै पनि पहल नभएको बताए । कृषि ज्ञान केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख देबेश कुमार मिश्रलाई सम्पर्क गर्दा उनले अहिलेको कृषि अनुदान कार्यक्रममा समेट्न नसकेपनि अबका कृषि कार्यक्रममार्फत सहयोग गरिने बताए । एउटा घरपरिवारले नै यति ठूलो कृषि फार्म सञ्चालन गरेको छ । कार्यालय प्रमुख मिश्रले भने,‘हामी कृषि फार्म अवलोकन गछौं, अनि कार्यालयले गर्ने सहयोगको प्रक्रिया अगाडि बढाउछौँ ।’


-1762576335.jpg)