Shittalpati
पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गतका सडक सुचारु

पाल्पा,  पहिरोका कारण अवरुद्ध बनेका सिद्धार्थ राजमार्गअन्तर्गतका विभिन्न सडकहरु सुचारु भएका छन् । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले राजमार्ग अन्तर्गतका सडकहरु आइतबार बिहान बन्द भए पनि दिउँसो तिर सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तिनाउ गाउँपालिका–२ दोभानस्थित सिद्धबाबा मन्दिर नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो । यहाँ सडक माथिबाट ढुङ्गा सहितको पहिरोले सडक अवरुद्ध बन्न पुगेको थियो । सडकमा खसेको पहिरो फालेपछि बाटो सुचारु भएको छ ।

यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–स्याङ्जा सडकखण्डमा पनि अवरुद्ध रहेको सडक सुचारु भएको छ । बगनासलकाली गाउँपालिका–५, राम्दी बजार क्षेत्रमा पहिरो खसेको थियो । राम्दी बजारमा झरेको पहिरो पन्छाएपछि सवारी आवागमन सुचारु भएको जनाइएको छ । यही सडकखण्डको रम्भा गाउँपालिका–३, पीपलडाँडा–सीता पहाडनजिक र बगनासकाली गाउँपालिका–४, सेरामा पनि खसेको पहिरो हटाइएको छ ।

यस्तै,रामपुर गिजिङडाँडामा पहिरो जाँदा रामपुर सडक अबरुद्ध बनेको थियो । अबिरल बर्षाको कारण पाल्पा रामपुर नगरपालिका ४ गिजिङडाँडा स्थित आर्यभन्ज्याङ –रामपुर पक्कि सडक खण्डमा माथिबाट पहिरो झरी बाटो पूर्ण रुपमा अवरुद्ध बनेकोमा पहिरो हटाईएको छ । सडकहरु सञ्चालनमा आएपछि यात्रु र सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।

यस्तै माथागढी १ चिदीपानीको धैरेनीको पहिरो समेत हटाएर एकतर्फी बाटो सुचारु भएको प्रहरीले जनाएको छ । लगातारको वर्षातले ठाउँ ठाउँमा बाढी र पहिरो जान सक्ने भएकाले सजग रहन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update