Shittalpati
पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गतका सडक अवरुद्ध

पाल्पा,  सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने विभिन्न ठाउँका सडकहरु अवरुद्ध भएका छन् । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले राजमार्ग अन्तर्गतका सडकहरु आइतबार बिहानदेखि अवरुद्ध भएका हुन् ।

तिनाउ गाउँपालिका–२ दोभानस्थित सिद्धबाबा मन्दिर नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । यहाँ सडक माथिबाट ढुङ्गा सहितको पहिरोले सडक अवरुद्ध भएको हो ।

यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–स्याङ्जा सडकखण्ड पनि अवरुद्ध भएको छ । बगनासलकाली गाउँपालिका–५, राम्दी बजार क्षेत्रमा पहिरो खसेको हो । राम्दी बजारमा पहिरो खसेपछि सवारी आवागमन रोकिएको राम्दी प्रहरी चौकीले जनाएको छ । यही सडकखण्डको रम्भा गाउँपालिका–३, पीपलडाँडा–सीता पहाडनजिक र बगनासकाली गाउँपालिका–४, सेरामा पनि पहिरो खसेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

यस्तै रामपुर गिजिङडाँडामा पहिरो जाँदा रामपुर सडक अबरुद्ध भएको छ । अबिरल बर्षाको कारण पाल्पा रामपुर नगरपालिका ४ गिजिङडाँडा स्थित आर्यभन्ज्याङ –रामपुर पक्कि सडक खण्डमा माथिबाट पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । यहाँका सडकहरु अवरुद्ध भएपछि टाढा–टाढा पुग्ने यात्रु बीचबाटोमा अलपत्र परेका छन् । पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । वर्षा निरन्तर भइरहेका कारण रामाजर्गका सडक सुचारु हुन केही समय लाग्ने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update