Shittalpati
उत्पादन वृद्धि गर्न बगनासकालीका कृषकलाई कृषि औजार

रामचन्द्र रायमाझी

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।

गाउँपालिका भित्रका ९ वटै वडाका कृषकहरुलाई हाते ट्याक्टर, बेसार पिस्ने मेसिन, कम्वाईन मिल, मकै रोप्ने मेसिन, डिजिटल तराजु, घाँस काट्ने मेसिन लगायतका कृषि औजारहरु दिएको छ । गाउँपालिकाको कृषि शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरी यहाँका कृषकहरुलाई अनुदानमा कृषि औजार हस्तान्तरण गरेको हो ।

उक्त सामग्री गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल,उपाध्यक्ष सरस्वती चिदीले कृषकलाई हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष बस्यालले कृषकलाई कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा कृषि सामग्री दिएको बताए । उनले गाउँपालिकालाई कृषिबाटै समृद्धि हासिल गर्ने र आमनागरिकहरुलाई कृषिमा आत्मानिर्भर गराउन कृषि सामग्रीले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । अध्यक्ष बस्यालले कृषकहरुलाई अनुदानको सदुपयोग गर्न आग्रह गरेका छन् । उपाध्यक्ष चिदीले कोभिड १९ कोरोना भाईरसका कारण बढ्दै गएको विषम परिस्थितिले भारत लगायतका अन्य देशबाट नागरिकहरु फर्कने क्रम बढेकाले पनि कृषि पेशालाई थप मर्यादित र व्यवसायिक बनाउन गाउँपालिकाले कृषि उत्पादनलाई विशेष जोड दिएको बताईन् । १ का वडा अध्यक्ष सोमबहादुर झेडी, ३ का वडा अध्यक्ष टीकाबहादुर थापा, ९ का वडा अध्यक्ष थानेश्वर तिमिल्सीना लगायतको उपस्थितीमा कृषि औजार वितरण गरिएको थियो ।

मानविय जीवनको महत्वपूर्ण पाटो कृषि भएकाले कृषि उद्यमशिलताको माध्यमबाट बगनासकालीलाई परिचित गराउने सपना साकार पार्ने गरी काम अगाडि बढेको कृषि शाखा प्रमुख राजेश बोहोराले बताए । उनले भने ‘सीप र प्रविधिको प्रयोगबाट यहाँका कृषकहरुलाई आत्मनिर्भरता बनाउन विभिन्न कृषि सञ्जाल, सहकारीमार्फत कृषि औजार,मल विऊ र प्राविधक सहयोग समेत उपलब्ध गराउदै आएका छौं ।’ ‘युग कृषि यान्त्रिकरण, खेतबारीमा रुपान्तरण’भन्ने अभिप्रायका साथ कृषिमा कृषकलाई आकर्षण गराउदै आएको कृषि शाखा प्रमुख बोहोराको भनाई छ । उनका अनुसार अहिलेसम्म ७० वटा हाते ट्याक्टर, ६९ वटा कम्वाईन मिल, १९ वटा डिजिटल तराजु, ग्राइन्डर, मकै रोप्ने मेसिन, स्प्रेयर, सिकेटर,करौती जस्ता कृषि औजारहरु अनुदानमा वितरण गरिसकिएको छ ।

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update