Shittalpati
पाल्पा पहिरो अपडेट : मृतकको संख्या तीन पुग्यो

रामचन्द्र रायमाझी
पाल्पा,पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टी खानी, हिउदे खोला क्षेत्रमा विहीबार बिहान पहिरोमा परी घाइते भएकी ७५ वर्षीय सुन्दरी गुरुङको उपचारका क्रममा मृत्यु भएको छ । पहिरोले पुरिएर गम्भीर घाइते भएकी गुरुङको शुक्रबार राति लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि पाल्पा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

योसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । पहिरोमा परेर यस अघि ४५ वर्षीय वीरबहादुर गुरुङ र ४ बर्षीय आरोप परियारको मृत्यु भइसकेको छ । उनीहरुको पहिरोले पुरिएको अवस्थामै शव फेला परेको हो । मृतक आरोप लामो समय बेपत्ता भए पनि खोजतलास गर्दा घर नजिकैको विद्यालय परिसरमा पहिरोले च्यापिएको अवस्थामा फेला परेका थिए । वीरबहादुरको भने घरमै च्यापिएको अवस्था शव भेटिएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदेखोला नजिकै माथिबाट ठूल्ठूला ढुंगासहितको पहिरोले घर पुरिँदा सात जना घाइते भएका थिए । घाइते मध्ये सुन्दरीको गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।

पहिरोले दुई घर पुरिएको र तीन घर बगाएको छ । पहिरोमा परी घाइते भएका २६ वर्षीय रमेश परियार, २४ वर्षीया पुजा परियार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिल बहादुर राना र दिपेश पुनको उपचार भइरहेको छ । पहिरोले बिरबहादुर गुरुङ, रमेश परियार, नरबहादुर राना, हरी दर्लामी र बलबहादुर पुनको घर पुरिएको छ । पहिरोका कारण विस्थापितहरुलाई स्थानीय बालकल्याणी आधारभूत विद्यालय मस्याममा खाना, बस्नको व्यवस्था मिलाइएको छ । उनीहरुलाई सत्यवती खानी, डोलोमाइट चुनढुंगा, नेपाल रेडक्रस, लायन्स क्लव, नेपाली काँग्रेस पाल्पा लगायतका संघसंस्थाहरुले राहत वितरण गरेका छन् ।

 

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update