Shittalpati
पाल्पा पहिरो अपडेट : बेपत्ता बालक मृत भेटिए, मृतकको संख्या दुई पुग्यो

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टी खानी, हिउदे खोला क्षेत्रमा विहीबार बिहान पहिरोमा परी बेपत्ता भएका बालक मृत अवस्थामा भेटिएका छन् । पहिरोमा बेपत्ता भएका स्थानीय रमेश परियारका ४ बर्षीय छोरा आरोप परियारको खोजी गर्दा विद्यालय परिसरमा पहिरोले च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । बालकको शव प्रहरी, सेना र सशस्त्र प्रहरीका साथै स्थानीयले फेला पारेका हुन् ।

योसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । पहिरोमा परेर विहान ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको थियो । वीरबहादुरको घरमै च्यापिएर मृत्यु भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदेखोला नजिकै माथिबाट ठूल्ठूला ढुंगासहितको पहिरोले घर पुरिँदा सात जना घाइते भएका छन् । पहिरोले दुई घर पुरिएको र तीन घर बगाएको छ । पहिरोमा परेका ७ जनाको भने घाइते अवस्थामा प्रहरी र स्थानीयवासीले उद्दार गरेको प्रहरीले जनाएको छ ।

स्थानीय ७५ वर्षीया सुन्दरी गुरुङ ,२६ वर्षीय रमेश परियार, २४ वर्षीया पुजा परियार, ५० वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिल बहादुर राना र दिपेश पुन घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते सुन्दरीको अवस्था भने गम्भिर रहेको छ, भने अन्यको सामान्य नै रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी त्वातीले जानकारी गराए । घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । स्थानीय बासिन्दाले भने प्रहरी प्रशासनको ढिलाइले गर्दा घाइतेको उद्धारमा कठिन भएको गुनासो गरेका छन् ।
पहिरोले बिरबहादुर गुरुङ, रमेश परियार, नरबहादुर राना, हरी दर्लामी र बलबहादुर पुनको घर पुरिएको छ । पहिरोका कारण विस्थापितहरुलाई स्थानीय बालकल्याणी आधारभूत विद्यालय मस्याममा खाना, बस्नको व्यवस्था मिलाइएको वडाध्यक्ष बलबहादुर दर्लामीले बताए । घरमाथिबाट गिट्टी र ठूला ढुङ्गा सहितको पहिरोले घर बगाएको उनले बताए ।

यसैबीच विहीबार बिहान अविरल वर्षाको कारण जिल्लाका विभिन्न स्थानमा पहिरोले सडक समेत अवरुद्ध बनेका छन् । पहिरोको कारण सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड बन्द भएको छ । सिद्धबावा, झुम्सा, पानी मिल, हिउँदे खोला, कालीमाटी क्षेत्र, लामेदमारमा पहिरो खसी सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गको तानसेन–पोखरा सडक खण्डको राम्दी तथा शेरा क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update