Shittalpati
माथागढी रुप्सेका किसानलाई उन्नत जातका बाख्रा र बोका

पाल्पा(माथागढी), जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेका किसानहरुलाई उन्नत जातका बाख्रा र बोका वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत रुप्सेका ४२ घरधुरीका किसानलाई बाख्रा र बोका वितरण गरिएको हो ।

माडी कृषि बहुउद्देश्यीय सहकारी संस्थामार्फत यहाँका किसानहरुलाई दुई सय वटा पाठी र ४ वटा उन्नत जातका बोयर बोका वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत छुट्याएको १५ लाख रकमबाट यहाँका किसानहरुलाई बाख्रासँगै औषधि र दाना दिइएको सकाहरीका संयोजक जीवलाल भट्टराईले जानकारी दिए । उनका अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई बाख्रा दिइएको हो ।

एक औपचारिक कार्यक्रमका बिच किसानलाई बाख्रा वितरण गरिएको हो । गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराई, वडा अध्यक्ष जनक रिजेल, प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल लगायतले संयुक्त रुपमा किसानलाई बाख्रा वितरण गरेका हुन् । बाख्रा वितरण गर्दै गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले गाउँपालिकामा व्यवसायिक पशुपालन गरी मासुमा आत्मनिर्भर बनाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसबाट राम्रो आयआर्जन गर्न किसानलाई आग्रह गरिन् । उपाध्यक्ष भट्टराईले भनिन् ‘अनुदानमा पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।’

वडा अध्यक्ष जनक रिजेलले बाख्रापालनका लागि वडामा अत्यन्त उपयुक्त वातावरण रहेकाले व्यावसायिकरुपमा बाख्रापालनमा लाग्न किसानलाई आग्रह गरे । उनले बाख्राका लागि आवश्यक, दाना, आषधि र प्राविधिक गाउँपालिकाले उपलब्ध गराइदिने बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले वडालाई बाख्रा पकेट क्षेत्र घोषणा गर्नका लागि कार्यक्रम सञ्चानल गरिएको बताए । बाख्रापालनबाट यहाँका किसानाहरुको आयस्तरमा वृद्धि गर्न बाख्रा दिइएको उनको भनाई छ ।

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update