Shittalpati
रैनादेवी छहराका सरकारी कार्यालयहरुमा तोडफोड, नगद ७० हजार चोरी

पाल्पा,जिल्लाको रैनादेवी छहरा गाउँपालिका भित्रका विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड भएको छ । बुधबार राती अज्ञात समूहले गाउँपालिका ५ को वडा कार्यालय सहित अन्य सरकारी कार्यालयहरुमा तोडफोड गरेको हो । अज्ञात समूहले रातीको समयमा आएर मुझुङ टोलमा रहेको वडा कार्यालय, कालिका माविको कार्यालय, महिला सहकारी संस्था, हुलाक कार्यालय, कृषि सहकारी संस्थाको कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त समूहले तोडफोडसँगै नगद समेत चारी गरेको छ । प्रहरीका अनुसार अज्ञात समूहले मुझुङ कृषी सहकारी कार्यालयबाट चार हजार, वडा कार्यालयबाट एक हजार ६ सय, कालिका माध्यमिक विद्यालयबाट ५० हजार चोरी गरेको छ । कार्यालयको ढोका फोडेर त्यहाँ भित्र रहेको दराजबाट नगद चोरी गरेको प्रहरीले जनाएको छ ।

यस्तै स्थानीय नेत्र बहादुर कार्कीको नास्ता पसलमा पनि तोडफोड गरी नगद चोरी गरेको जनाइएको छ । उक्त समूहले कोठा भित्र रहेको दराजको ताल्चा फुटाली नगद सात हजार र एनटीसीको आठ हजारको रिचार्ज कार्ड चोरी गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए । घटनामा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update