Shittalpati
पाल्पामा पनि मनाइयो धान दिवस , ५० प्रतिशत रोपाइँ सकियो

कृष्ण पोखरेल
पाल्पा,  पाल्पा सहित देशभर असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ । कोरोना संक्रमणको जोखिमका बीच मंगलबार पाल्पा लगायत देशका विभिन्न ठाउँमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो । यो वर्ष ‘धान उत्पादनमा वृद्धि: खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ विविध कार्यक्रममको आयोजना गरियो ।

पाल्पामा तानसेन नगरपालिका र कृषि ज्ञान केन्द्रको संयुक्त आयोजनामा माडीफाँटमा धान रोपेर दिवस मनाईएको हो । तानसेन नगरपालिकाका उप–प्रमुख लक्ष्मीदेवी पाठकको नेतृत्वमा माधवी कृषि महिला समूहको सहभागितामा खेतमै धान रोप्दै असारे गित गाउँदै माडी फाँटमा धान दिवस मनाईएको हो । धान दिवसको अवसरमा खेताला तथा सहभागीहरुलाई दही चिउरा, पुवा अचार खुवाएर अतिथी सत्कार गरिएको थियो । सोही अवसरमा तानसेन नगरपालिकाकी उप–प्रमुख लक्ष्मीदेवी पाठक, वडा नंं ९ का वडा अध्यक्ष हरी सुमर रेग्मी, कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्याल, दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन सापकोटा, मदनपोखरा बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल सञ्जय यादव लगायतको टोली धान रोपाइँमा सहभागी भएको थियो । तानसेन नगरपालिकाकी उप–प्रमुख पाठकले तानसेनको माडी, अर्गली छेर्लुङ्गमा चक्लाबन्दी कार्यक्रममार्फत उत्पादनमा वृद्धि गर्ने, तीनवटै फाँटमा १२ महिना प्रशस्त सिंचाईको व्यवस्था गर्न लुम्बिनी प्रदेश सरकारसँग आवश्यक समन्वयको काम भईरहेको बताईन् । माडी फाँटमा बर्षाद्को समयमा प्रशस्त सिंचाई भएपनि हिउँदमा सिंचाईको अभाव हुँदा सबै किसिमका कृषिजन्य उत्पादनको लागि कठिनाई भएको छ । नगर भित्रका खेत तथा फाँटहरुलाई खेतीयोग्य बनाउन तानसेन नगरपालिकाले आवश्यक सहयोग गर्ने नगर उप –प्रमुख पाठकले बताईन् । खेतीयोग्य फाँटहरुका घर तथा उद्योगधन्दा नबनाई खेती मात्र गर्न उप–प्रमुख पाठकले कृषकहरुलाई अनुरोध गरिन । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले नेपाल लगायत एसियाको प्रमुखवालीको रुपमा धान खेती भएकाले सरकारले धान खेतीलाई राष्ट्रिय दिवसको रुपमा मनाइएको बताए । पाल्पामा विगतका वर्षहरुमा भन्दा यस धान उत्पादनमा वृद्धि हुने ज्ञान केन्द्रका प्रमुख अर्यालले बताए । पाल्पामा अहिलेसम्म ५० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा पर्याप्त मात्रामा मल रहेकाले यस वर्षपनि धानको उत्पादनमा वृद्धि हुने अर्यालले बताए ।

कार्यक्रममा वडा अध्यक्ष हरीसुमर रेग्मी, जिल्ला समन्वय समितिका सदस्य कुलबहादुर गाँहा, मदनपोखरा बहुप्राविधिक शिक्षालयका प्रमुख संजय यादव, दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन सापकोटा, लगायतले उन्नत जातको विउ, कृषि उत्पादनमा यान्त्रिकरण, विभिन्न किसिमको प्राविधिक सहयोगको कारण कम लागतमै धानको उत्पादनमा वृद्धि भएको बताए । माधवी कृषि महिला समूह दमकडाकी अध्यक्ष विनिता लुईटेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तानसेन नगरपालिका कृषि पशु शाखा प्रमुख दान बहादुर कवँर मगरले गरेका थिए । यस वर्ष जेठ महिनादेखी प्रशस्त पानी परेपछी असार पन्ध्रसम्म पाल्पाका फाँटहरुमा आधा भन्दा बढी रोपाइँ भएको छ । यतीबेला जिल्लाका अधिकाश ठूला ठूला फाँटहरुमा कृषकहरु रोपाइँमा व्यस्त भएका छन् । जेठ महिनामै पानीको मुल फुटेपछी कृषकहरुले जेठ महिनाबाटै रोपाइँ शुरु गरेका हुन् । यति बेला जिल्लाका कृषकहरुलाई भ्याई नभ्याई भएको छ । कृषकहरुले ठूला ठूला फाँटहरुमा आधुनिक कृषियन्त्रहरुको प्रयोग गरेका छन् भने टारी खेतहरुमा अझै पनि हल गोरु लगाएर रोपाइँ गर्ने प्रचलन पाल्पामा रहेको छ । पाल्पाका ठूला फाँटहरु रामपुर, झडेवा, माँडी, कचल, अर्गली, हुंगी, सर्देवा, छेर्लुङ्ग चहला फाँटहरुमा प्रशस्त मात्रामा धान खेती हुने गरेको छ ।


पानी समयमै परेकाले यहाँका टारी खेतहरुमा पनि रोपाइँ भएको छ । कोरोना संक्रमणको कारण शहर बजार सुनसान रहेपनि गाउँघरमा भने परिवारका सदस्यहरु मिलेर, ज्यालादारी गरेर अर्म पर्म गर्दै कृषकहरु खेतीपातीमा जुटेका हुन । असारमा मानो रोपेर मंसिरमा मुरी उव्जाउन यहाँका कृषकहरु फाँटहरुमा खटिएका हुन । जिल्लामा प्रशस्तमात्रामा सबै किसिमको रासायनिक मल रहेको र सहकारीमार्फत गाउँ –गाउँमा पुगेपछी कृषकहरु खुसी देखिएका छन । यहाँ समयै बर्षा भएको र मनसुन पनि शुरु भईसकेकाले धान खेतीमा कृषकहरु जुटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पाल्पामा ३६ हजार ५ सय ३७ हेक्टरमा खेती हुँदै आएकोमा ८ हजार ६ सय २० हेक्टरमा बर्षेधान, ७ सय ५ हेक्टरमा चैते धान र २७ हजार २ सय १२ हेक्टरमा अन्य खेती हुँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update