Shittalpati
आज धान दिवस: हराउदै रोपाइँमा मौलिकता

रामचन्द्र रायमाझी

पाल्पा,

छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला

बनाई कुलो लगाई पानी आएर गोडौंला

जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने चलन छ । जब रातभरि झरी परेर खेतबारी हिलाम्मे हुन्छ, तब हरेक किसानको मनमा आशाको फूल फुल्छ । धान रोपेर वर्षभरिलाई भात खान पुग्ने चामल फलाउँछु भन्ने आश हुन्छ । पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो । रोपाइँमा गाइने असारे भाकाको बेग्लै मिठास गुञ्जिन्थ्यो । तर समयक्रमसँगै रोपाइँ गीत हराउन थालेका छन् । रोपाहारका रूपमा लहरै खेत रोपिरहेका महिला, खेत जोत्ने हली, बाउसे र आली ताछ्ने युवाहरू सबै मिलेर असारे भाका गाउने चलन थियो । गीत गाउँदै, एकअर्कामा हिलो छ्याप्दै जुहारी खेल्दै गरिएको रोपाइँ निकै रमाइलो हुन्थ्यो । तर हिजो आज आधुनिकतासँगै असारे गीतका ति भाकाहरु विस्तारै हराउदै गएका छन् ।

कुनै बेला असार लागेसँगै असारे गीतहरु गुञ्जायमान हुने पाल्पा र गुल्मीका फाँटहरुमा पछिल्लो समय धान रोपाइँमा देखिने मौलिक गीत गाउने संस्कृति हराउँदै गएको छ । परम्परागत कृषि प्रणाली हराउदै जाँदा रोपाइँको रौनक नै हराउदै गएको हो । केही वर्ष अघिसम्म वर्षायाम सुरु भएसंगै हलो,जुवा, हलगोरु, बाउसे र रोपाहारहरु खेतमा हुँदा रोपाइँको चहलपहल रहे पनि अहिले यो विस्तारै हराउँदै गएको छ । बढ्दो आधुनिकीकरण र युवा पुस्ता विदेश पलायन भएपछि खेतमा धान रोपाइँका लागि हलोजुवा, हल,गोरु र बाउसेको अभाव देखिएको किसानहरु बताउँछन् ।

मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार पन्ध्र गतेका दिन आज नेपालभर धान दिवस, मनाइँदैछ । प्रत्येक वर्ष असार पन्ध्र गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ । आजकै दिन असारे भाकामा असारे गीत गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । धान रोप्ने क्रममा युवायुवती हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन समेत गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार पन्ध्रलाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार पन्ध्र मनाउँछन् ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुने गर्दछन् ‘मजाले हिलोमा छुपुछुपु खेल्दै र धान रोप्दै अनि दही चिउरा खाँदै हामी असार पन्ध्रमा रमाइलो गथ्यौं’, तानसेन अर्गेलीकी देवकला जिसीले पुराना दिनहरु संझदै भनिन् । ‘खेतको आलीमा सबैजना बस्थ्यौँ , घरबाट ल्याइएको दही र चिउरालाई नाग नागिनी र देवतालाई चढाएर खाने गरिन्थ्यो । असार पन्ध्र गते धान रोपेर थकित भएपछि खेतको डिलमा बसी आलुको अचारसँगै दही चिउरा खाएर लय हालेर असारे गीत गाउँदाको रौनक कम्ती रमाइलो हुदैनथ्यो ।’

गुल्मी मुसिकोटका पदम पाण्डेलाई असार १५ गते बाउसे गर्न जाँदाको क्षण ताजै छ । ‘हिलोमा चलेर आउँदा लोद परी फर्किन्थ्यौ, तर दही चिउरा खाएपछि र अरुले रमाइलो गरेको देखेपछि पीडा र थकान भुल्थ्यौँ उनी भन्छन् । जिसी र पाण्डेको जस्तै असार पन्ध्र गतेकोे अनुभव धेरैको छ । किसानहरु दिनभर हिलोमा रोपाइँ गरी आफ्ना दुख पीडा भुलेर रमाइलो गर्दै दही चिउरा खाने गर्छन् । रोपाइँ गर्ने समयमा खाइने चिउरा पनि धानबाटै बन्ने हुनाले यसको बेग्लै महत्व छ ।

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update