Shittalpati
गुल्मीदरबारको जनमुखी कार्यक्रम

रमेश विश्वकर्मा

गुल्मी, गुल्मी जिल्लामा दुई नगरपालिका र दश गाउँपालिका गरि १२ वटा स्थानीय तह रहेका छन् । त्यसमध्ये गुल्मीदरबार गाउँपालिका पनि जिल्लाको एक स्थानीय तह हो । गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै आगामी वर्षका लागि जनमुखी नीति तथा कार्यक्रमहरु ल्याएको छ । ति नीति तथा कार्यक्रमहरुलाई सफल बनाउनका लागि गाउँपालिकाले आफ्नो आठौं गाउँसभामा झण्डै ४५ करोड बढिको बजेट ल्याएको हो । गाउँपालिका अध्यक्ष अशोककुमार थापाले भर्चुअल माध्यमबाट शुभकामना मन्तव्य राखेसँगै शुरुवात भएको आठौं गाउँसभामा उपाध्यक्ष मीना भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । त्यस लगत्तै असार १० गते पुनः गाउँसभा भएको थियो । गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट सर्बसम्महत पास भएको छ । नीति तथा कार्यक्रम अनुसार चालुतर्फ ३३ करोड १५ लाख ६३ हजार र पूँजीगत खर्चतर्फ ११ करोड ८५ लाख २ हजार गरि कुल ४५ करोड ६५ हजार रकम गाउँपालिकाले विनियोजन गरेको छ ।

बजेटका मुख्य प्राथमिकता

गाउँपालिकाको समग्र विकासको लागि बजेटलाई विभिन्न पक्षहरु आधार मानेर प्राथमिकताका साथ अगाडी सारिएको छ । जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध पालिकाका जनतासँग प्रत्यक्ष हुने गरि विभिन्न पक्षलाई बजेटमा प्राथमिकताका साथ राखिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिए । उनका अनुसार कृषि तथा पशुपालन, खानेपानी तथा सरसफाई, कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण र विपद् व्यवस्थापन, गुणस्तरीय स्वास्थ्य सेवा, सडकस्तरोन्ती गर्ने बजेटमा प्राथमिकता रहेका छन् । क्रमागत रुपमा संचालनमा रहेका आयोजनाहरुको निर्माण कार्य पुरा गर्ने, रोजगारी र स्वरोजगारी सिर्जना गरी अर्थतन्त्रलाई गतिशिल बनाउने, पूर्वाधार निर्माण र पर्यटन विकास सामाजिक समावेशीकरण गाउँपालिकाबाट गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्ने लगायतका प्राथमिकताहरु रहेको पाण्डेले बताए ।

जनमुखी कार्यक्रम

गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध प्रत्यक्ष पालिकाका नागरिकसँग होस् भनि विभिन्न जनमुखी कार्यक्रम अगाडी सारेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । गाउँपालिकाले पारदर्शीता जवाफदेहीता सहित जनउत्तरदायी स्थानीय सरकार बन्न जनतासँग गाउँपालिका कार्यक्रम ल्याएको छ । त्यस्तै जेष्ठ नागरिकसँग गाउँपालिका कार्यक्रम, विद्यार्थीसँग गाउँपालिका कार्यक्रम, संचारकर्मीसँग गाउँपालिका कार्यक्रम, बालबालिकासँग गाउँपालिका कार्यक्रम, कृषकसँग गाउँपालिका कार्यक्रम, आमासँग गाउँपालिका कार्यक्रम, खेलाडीसँग गाउँपालिका कार्यक्रम, अपाङ्गसँग गाउँपालिका कार्यक्रम अगाडी सारेको छ ।

साथै पालिकाले एक घर एक करेसाबारी कार्यक्रम, एक वड़ा एक पर्यटकीय स्थल कार्यक्रम, एक बड़ा एक हेलिप्याड निर्माण कार्यक्रम, प्रविधिमैत्री स्थानीय सरकार, गाउँपालिकाको समग्र क्षेत्रको विवरण सहितको मासिक ई बुलेटिन प्रकाशन, पानीको मुहान संरक्षण र वातावरण संरक्षणको लागि पुनर्भरण पोखरी निर्माण, कृषकहरुलाई विभिन्न अनुदानका कार्यक्रम, उद्यमी सृजना गरी स्वरोजगार र रोजगारका कार्यक्रम, जनउत्तरदायी कर्मचारी र जनप्रतिनिधिको सुनिश्चितता, कर्मचारीको तलबमा मासिक २ हजार वृद्धि, निःशुल्क कृतिम गर्भाधारण कार्यक्रम, महिलास्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँपालिकाबाट थप मासिक १ हजार रकम प्रोत्साहन ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई गाउँपालिकाबाट भत्ता दिने भएको छ ।

बालविकास सहयोगि कार्यकर्ता विद्यालय शिक्षक तथा कर्मचारीहरुलाई उत्प्रेरित बनाउन आवश्यक व्यवस्था, मासिक समीक्षा गोष्ठी संचालन, अपुरा योजनाहरु सम्पन्न गर्ने, खरको छानामुक्त गाउँपालिका घोषणा गर्ने, दिर्घरोगीहरुलाई निशुल्क औषधी उपलब्ध गराउने, गाउँपालिकाको बाँझो जमिनलाई उपभोग गर्न भूमि बैंकको स्थापना गर्ने, रैथाने बालिको संरक्षणमा प्रोत्साहन अनुदान, नागरिकले अनुभूत हुने गरी भौतिक पूर्वाधार, आर्थिक, सामाजिक र सुशासन सम्बन्धीका कार्यक्रम योजना सञ्चालन गर्ने लगायतका जनमुखी कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । त्यस्तै गाउँपालिकाको आठौं गाउँसभाबाट नीति तथा कार्यक्रम पेश र पास गर्दैगर्दा विगतका वर्षहरुमा गरिएका उपलब्धिहरु समेतको समिक्षा गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update