Shittalpati
माथागढीको नीति–कार्यक्रम: कोरोना संक्रमितको निःशुल्क उपचारदेखि विपन्न परिवारको स्वास्थ्य बिमा

कृष्ण पोखरेल

पाल्पा,  माथागढी गाउँपालिकाले कोरोना संक्रमितको निःशुल्क उपचारदेखि विपन्न परिवारको स्वास्थ्य बिमा गर्ने गरी नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नवौ गाउँसभा मार्फत गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई केन्द्रित गर्दै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिकाले यससँगै शिक्षा, कृषि, पशु र पूर्वाधारमा पनि नीति, कार्यक्रम तथा बजेट केन्द्रित गरेको छ । उसले कोभिड रोग विरुद्ध निःशुल्क चेकजाँच गर्ने, कोभिड अस्पतालमा भर्ना हुने विरामीको निःशुल्क उपचार गर्ने, कोभिडबाट मृत्यु भएका व्यक्तिको परिवारलाई क्रिया खर्च बापत ३५ हजार रकम उपलब्ध गराउने, आलु, धनियाँ, तरकारी, किवी, दुध र खुर्सानी पकेट क्षेत्र घोषणको कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक विउ बैक तथा नश्लसुधार कार्यक्रम सञ्चालन गर्ने, बाझो जमिनमा खेती गर्नेलाई प्रति रोपनी ३ हजार अनुदान दिने, फूल खेतीमा अनुदानको व्यवस्था, मासु, दुध र अण्डमा पालिकालाई आत्मनिर्भर बनाउने नीति लिएको छ । यस्तै पालिकाले पशुपालन क्षेत्रमा नश्ल सुधार, प्राविधिक सेवा तथा औषधी उपचारमा विशेष प्याकेज कार्यक्रम बनाउने गरी नीति तथा कार्यक्रम गाउँसभामा पेश भएको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताए ।  सौभाग्य माविमा प्राविधिक शिक्षा सञ्चालन गर्ने, दिव्य ज्योती माविलाई नमुना विद्यालयको रुपमा अगाडि बढाउने, पालिकाका सबै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने, विद्यालयका शिक्षक तथा कर्मचारीको लागि ५ लाख रुपैयाँको दुर्घटना बिमा गर्ने, कक्षा १ देखी ८ सम्म गाउँपालिकाले निर्माण गरेको पाठ्यक्रम सञ्चालन गर्ने, कक्षा १ देखी ३ सम्म मातृभाषाको पाठ्यपुस्तक प्रकाशन गर्ने, विद्यायका सबै बालवालिकाको लागि बर्षमा २ पटक स्वास्थ्य परीक्षण गर्ने, शिक्षक तथा विद्यार्थीहरुलाई क्रियासिल बनाउन एक विद्यालय एक फुलबारी कार्यक्रम लिइएको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले ल्याएको ५५ करोड बराबरको बजेट मध्ये पुर्वाधार क्षेत्रमा ७ करोड १५ लाख ५० हजार, आर्थिक विकास कृषि पशु क्षेत्रमा १ करोड ९४ लाख, शिक्षा क्षेत्रमा १ करोड ६६ लाख, स्वास्थ्य क्षेत्रमा १ करोड ६५ लाख ८० हजार, झोलुङ्गे पुलको लागि २० लाख, भवन तथा शहरी विकासको लागि ९१ लाख, उर्जा लघु तथा साना जलविद्युतको लागि ६२ लाख, वातावरण तथा विपद् व्यबस्थापनमा ३२ लाख, संस्थागत विकासको लागि ५१ लाख, बालमैत्री पालिकाको लागि ३५ लाख, युवा तथा खेलकुदको लागी ६४ लाख, दलितको लागी २१ लाख, आदिवासी जनजातीको लागि १६ लाख, लैगिंक समानता तथा सामाजिक समावेशीकरणको लागि २४ लाख ५० हजार, धर्म संस्कृतिको लागि १३ लाख, खानेपानी तथा सरसफाईको लागि २० लाख, सामाजिक विकासका लागि १० लाख, पर्यटन क्षेत्रमा २५ लाख, वडास्तरीय योजनाका लागि ५ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बजेट संयोजक एवं उपाध्यक्ष निर्मला भट्टराईले बताईन् ।

अति विपन्न ८ सय घरपरिवारमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक प्रयोगशाला र बर्थिङ्ग सेन्टर सञ्चालन गर्ने, एम. वि. वि.एस चिकित्सक सहितको कोभिड अस्पताल सञ्चालन गर्ने, ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकका लागि घर–घरमा स्वास्थ्य परीक्षण, पालिकाका प्रत्यक नागरिकलाई बार्षिक रुपमा निःशुल्क स्वास्थ्य परीक्षण, उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम, गर्भवतीलाई अण्डा घरमा हरियो झण्डा कार्यक्रम, सुत्केरी अस्पताल कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए ।

बासटारी, झडेवा रहवास दुम्कीवास सडकलाई स्तरउन्नती गर्ने, झडेवा गोठादी सुनवल महेशपुर सडकलाई स्तरउन्नती गर्ने, प्रत्येक वडामा केन्द्रिय स्तरको विद्युत सेवा प्रवाह गर्ने, कोभिड १९ बाट रोजगारी गुमाएका, परिवार गुमाएका व्यक्तिहरुलाई पालिकाको रोजगारीमा सहभागी गराउने, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिदै लिफ्ट खानेपानी योजनामा ५० प्रतिशत अनुदान दिने गरी नीति तथा कार्यक्रम पेश भएको गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले बताए ।

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update