Shittalpati
माथागढी गाउँ सरकारको बजेट ५५ करोड ८५ लाख

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक भएको छ । गाउँपालिकाको नवौ गाउँसभामा अध्यक्ष सन्तोष कुमार थापाले बार्षिक निती तथा कार्यक्रम प्रस्तुत गरे । अध्यक्ष थापाले सभामा स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन र पुर्वाधार क्षेत्रमा केन्द्रित गरी नीति तथा कार्यक्रम पेश गरेका छन् । गाउँसभामा उपाध्यक्ष निर्मला भट्टराईले ५५ करोड ८५ लाख ८८ हजार ४ सय ३४ रुपैयाको बार्षिक बजेट प्रस्तुत गरिन । उपाध्यक्ष भट्टराईले चालु तर्फ ३१ करोड ६७ लाख ३४ हजार र पुँजीगत तर्फ २४ करोड १८ लाख ५४ हजार रुपैया विनियोजन गरेको बताईन ।


नवौ गाउँसभाको उद्घाटन गर्दै लुम्विनी प्रदेशका सभासद एवं नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापती विर बहादुर रानाले स्थानीय सरकार सफल भए मात्र संघीयता सफल हुने बताए । स्थानीय सरकार नै जनताको घरदैलोको सरकार भएकाले यसलाई श्रोत साधनबाट बलियो बनाउनु पर्ने सांसद रानाले जोड दिए । सिंहदरवारमा रहेको अधिकार स्थानीय सरकारले घर दैलोमा पुर्याईदिएको सभासद रानाले बताए । उनले प्रधानमन्त्री केपी ओली प्रति लक्षित गर्दै अहिले केही व्यक्तिको सनकमा मुलुकमा संविधान विपरित शासन सत्ता चलेको संविधान च्यातिएको, संघीयतालाई नै धरापमा पारेकोले यो अवस्थामा राजनितिक दलभन्दा माथि उठेर संविधान जोगाउनु पर्ने बताए ।


जनप्रतिनिधी र कर्मचारीको मिलेमोतोमा विकास निर्माण तथा बजेटलाई राम्रो संग कार्यान्वयन गर्न सकिने भएकाले सोही अनुसार काम गर्न सांसद रानाले माथागढीका कर्मचारी र जनप्रतिनधीहरुलाई आग्रह गरे । जनताको पहिलो प्राथमिकता बास, गास भएकाले सोही कुरालाई आधार बनाएर सबैपक्षले काम गर्नुपर्ने सांसद रानाले जोड दिए । माथागढी क्षेत्रमा पेश भएको बजेट तथा नीति कार्यक्रममा सबै पक्षलाई समेटिएको, सबैका भावना विचार र अभिव्यक्तिहरुको सम्मान हुने गरी कार्यक्रम प्रस्तुत भएको सांसद रानाले बताए ।


गाउँसभामा नेकपा एमाले माथागढीका प्रतिनिधी राजेश कुमार पंन्थी, नेपाली काँग्रेस माथागढी गाउँपालिकाका सभापती बालकृष्ण जि.सी., नेशनल मंगोल अर्गनाईजेशनका प्रतिनिधी प्रेम बहादुर रुचाल, राप्रपा माथागढीका राजेन्द्र बहादुर जि.सी., पत्रकार महासंघ पाल्पाका उपसभापती भरत शर्मा, संस्थागत विद्यालयको तर्फबाट प्रेम खराल, सामुदायिक विद्यालयकोतर्फबाट दुर्गा काफ्ले लगायतले सबैपक्षलाई समेटिएको नीति तथा कार्यक्रम भएको बताए । गाउँसभामा प्रवक्ता मधु पराजुलीको स्वागत, गाउँसभाका सदस्य सचिव राजु नेपालको सञ्चालन र पालिका अध्यक्ष सन्तोष कुमार थापाको अध्यक्षतामा नवौ गाउँसभा चलेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update