Shittalpati
तिनाउ गाउँपालिकाको प्राथामिकता कृषि, शिक्षा र स्वास्थ्य

पाल्पा,जिल्लाको तिनाउ गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राख्दै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुधबार नवौं गाउँसभामार्फत गाउँपालिकाले कृषि, शिक्षा र स्वास्थ्यमा केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष दमयन्ती थापाले नीति तथा कार्यक्रमसार्वजनिक गर्दै कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथामिकतामा राखिएको बताईन । उनले सिंचाई, कृषि तथा पशुपालन, कोरोना रोकथाम, स्वास्थ्य संस्थाको स्तरउन्नती, स्वास्थ्य इकाईहरुको सञ्चालन नीति तथा कार्यक्रममा समावेश गरिएको बताईन् । यस्तै शिक्षा तर्फ आधारभूत तहका विद्यालयहरुमा आउँदो शैक्षिक सत्र देखि अनिवार्य रुपमा १ देखि ३ सम्मको कक्षामा अंगे्रजी माध्यमबाट अध्यापन गराइने कार्यलाई निरन्तरता दिइने छ । उपाध्यक्ष थापाले आगामी आर्थिक वर्षका लागि ४७ करोड ७६ लाख ९२ हजार ८ सय ६५ रुपैंया बराबरको अनुमानित आय व्यय समेत सार्वजनिक गरेकी छन् । पूँजीगततर्फ १८ करोड ८८ लाख ६० हजार ८ सय ६५ र चालुतर्फ २७ करोड ७७ लाख २२ हजार विनियोजन गरिएको उनले बताईन ।

गाउँपालिकाले प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेट ल्याएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए । उनले खानेपानी समस्या समाधानको लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ जनमैत्री कार्यक्रमहरुलाई पहिलो प्राथामिकतामा राखिएको बताए ।

 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update